विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मानव विकासको दृष्टिकोणले प्रदेश १ अगाडि रहेको दाबी गरेका छन् । अन्य प्रदेशको तुलनामा मानव विकासको सूचकाङ्कमा प्रदेश १ अगाडि रहेको उनले दाबी गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घले विराटनगरमा मङ्गलबार मानव विकास रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नेपालको मानव विकास सुधार उन्मुख रहेको बताए ।
अहिले असमानत घट्दै गएको जानकारी दिँदै मुख्यमन्त्री राईले स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि वृद्धि भइरहेको बताए । प्रदेश सरकारले निर्धारण गरेको नीति तथा कार्यक्रममार्फत् पनि मानव विकासमा अगाडि बढेको उनले बताए ।

‘सीमित स्रोत, साधनको प्रयोग गरी प्रदेश सरकार अगाडि बढेको छ’ मुख्यमन्त्री राईले भने, ‘समृद्ध प्रदेश बनाउन प्रदेश सरकार योजनाबद्ध ढङ्गले अगाडि बढेको छ ।’ प्रदेश सरकारले आवधिक योजना बनाएर गरिबी न्यूनीकरणतर्फ पनि उन्मुख भएको उनले बताए । ‘प्रदेश सरकारले आवधिक योजना बनाएर पूर्वाधार र विकास निर्माणमा अगाडि बढेको छ’ उनले भने, ‘यो पनि मानव विकासको सूचक हो ।’ मुख्यमन्त्री राईले सूचना र प्रविधिको उच्चतम् प्रयोग गरी डिजिटल प्रदेशको रूपमा रूपान्तरण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घले तयार पारेको ‘मानव विकास रिपोर्ट २०१९’ मुख्यमन्त्री राईले सार्वजनिक गरेका थिए । सङ्घले तयार पारेको रिपोर्टमाथि टिप्पणी गर्दै प्राध्यापक कृष्णराज पाण्डेले विकासलाई स्वतन्त्रतासँग जोडेर मानव विकासको सूचकाङ्कलाई अगाडि बढाउनुपर्ने बताए । सार्वजनिक रिपोर्टमाथि सञ्चारकर्मी महाप्रसाद खतिवडा, डा. भाष्कर गौतमलगायतले टिप्पणी गरेका थिए । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य ०.२८० देखि ०.५७९ वृद्धि भएको छ ।

जसमा ०.५२६ वृद्धि भएको देखिन्छ । १९९० देखि २०१८ सम्मा नेपालमा जन्मदरको औषत आयु १६.१, विद्यालय शिक्षाको मध्यम् २.८ वर्ष र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।