भण्टाबारी/ भण्टाबारी र कोशी गाउँपालिका क्षेत्रका ज्येष्ठ नागरिकहरूले दशैंको समयमै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म पाएका छैनन् । पटक–पटक वडा कार्यालय र गाउँपालिकाको कार्यालय धाए पनि आफूहरूले ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको कोशी गाउँपालिका वडा नं. ४ की एकल महिला बिनादेवी यादवले गुनासो गरेकी छन् । साउनदेखि कात्तिकसम्म पहिलो चौमासिक र त्यसपछिको सामाजिक सुरक्षा भत्ता कोशी गाउँपालिकाका ८ वटै वडाका ज्येष्ठ नागरिकहरूले पाएका छैनन् । ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नपाउँदा जीवन निर्वाहमा समेत समस्या भएको बिनादेवी बताउँछिन् ।

दशैं, तिहार, छठ तथा दीपावलीजस्तो चाडमा समेत भत्ता नपाएपछि नयाँ कपडा सिलाउने र मीठो–मसिनो किनेर खान नपाएको अर्की एकल महिला रामवतीदेवी खङ्गले गुनासो गरिन् । भत्ता लिन भनेर धेरैपटक वडा कार्यालय धाए पनि कर्मचारीले माथिबाटै आएको छैन भनेपछि रित्तै फर्केको उनले बताइन् । कोशी गाउँपालिका वडानम्बर ४ का एकल महिलाहरू बिनादेवी, रामवतीदेवी, विन्दादेवी यादव त्यसैगरी अपाङ्गतर्फ साविर मियाँ, सोहेल मन्सुरी, ज्येष्ठ नागरिकतर्फ बलदेव यादव, बुधनीदेवी यादव, जेलोनी खातुनलगायत गाउँपालिका क्षेत्रका ११ सयबढी एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिकले पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

भत्ताबापत आएको रकमले औषधि उपचार गर्दै आएको बताउँदै कोशी गाउँपालिका–७ की बुचिया सदाले यसपालि ६ महिनादेखि भत्ता नपाएको बताइन् । सामाजिक सुरक्षा भत्ताको रकमले एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिकले घरखर्च चलाउनेदेखि औषधोपचार गर्दै आएकोमा पहिलो चौमासिकको रकम नपाएकोले समस्या भएको स्थानीय विद्यान्न यादवले बताए । भत्ताबापत आएको रकमले चाडपर्व मनाउने भनेर बनाएको सोच पूरा नभएको उनले बताए । सामाजिक सुरक्षा भत्ताको रकम आउँदा तिर्ने शर्तमा अर्काबाट उनीहरूले सापटी लिएर औषधोपचार र घरखर्च चलाएको यादवले बताए । गाउँपालिकाका कर्मचारीको लापरबाही र ढिलासुस्तीका कारण हालसम्म सामाजिक सुरक्षा भत्ता वितरण नभएको उनको भनाइ छ ।

गाउँपालिकाका कर्मचारीले इमानदारीपूर्वक काम गर्न नसक्दा एकल महिला, अपाङ्ग र ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबापतको रकम पाउनबाट बञ्चित भएको स्थानीयको आरोप रहेको छ । ‘विगतमा वडा कार्यालयबाट सहजरूपमा भत्ता पाइन्थ्यो’ स्थानीय विन्दादेवी यादव भन्छिन्, ‘अहिले झन् गाउँबाटै सहज पाउनु पर्नेमा सामाजिक सुरक्षा भत्ता पाउन मुस्किल भएको छ ।’ पहिला–पहिला घरदैलोमा पाइने सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत् वितरण गर्ने भनेपछि समस्या भएको हो । पहिलो चौमासिकको रकम कात्तिकसम्ममा पाउनु पर्नेमा हालसम्म नपाउँदा कोशी गाउँपालिका क्षेत्रका एकल महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक निराश भएका छन् ।

‘बैङ्कमा लामो लाइन बस्नुपर्छ’ बिन्दादेवीले भनिन्, ‘पुगे पनि भनेअनुसार समयमै काम हुँदैन । अरूलाई पठाए बैङ्कले रकम दिन आनाकानी गर्छ, पहिले घर–घरमा सामाजिक सुरक्षाभत्ता रकम पाइन्थ्यो, अहिले रकम पाउन जटिल भएको छ ।’ गत आर्थिक वर्षको दोस्रो चौमासिकको अन्तिमदेखि सबै सामाजिक सुरक्षाभत्ता बैङ्कमार्फत् वितरण गर्ने भनेपछि ढिलाइ भएको जनाइएको छ । समयमै निकासा दिएको बताउँदै कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बैङ्कमा खाता खोल्न ढिलाइ गरेकोले सामाजिक सुरक्षा भत्ताबापतको रकम पाउन समय लागेको बताए । उनले भने, ‘एकल महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न हाम्रोतर्फबाट प्रक्रिया पुगिसकेको छ ।

उहाँहरूले बैङ्कमा आ– आफ्नो खाता सञ्चालन गरेर खाता नम्बर दिन मात्र बाँकी छ ।’ वडा कार्यालयले बुझाउन नसकेकोले स्थानीयले गाउँपालिकाका कर्मचारीमाथि निराधार आरोप लगाएको उनको भनाइ छ । कोशी गाउँपालिका–१ स्थित मेघा बैङ्कमार्फत् सामाजिक सुरक्षाभत्ता वितरण भइरहेको गिरीले बताए । चालू आर्थिक वर्षदेखि सरकारले प्रतिमहिना प्रतिव्यक्ति २ हजारका दरले सामाजिक सुरक्षाभत्ता दिने घोषणा गरेको छ ।