कृष्णबहादुर गिरीबाट ‘कृष्णदास’ हुँदै ‘सिद्धबाबा’ भनेर चिनिने धार्मिक गुरु आफ्नै अनुयायीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेपछि उनका पक्ष र विपक्षमा बीच विभिन्न तर्क वितर्क भइरहेका छन् । उनको पक्षमा रहेका अनुयायीहरू ‘गुरुलाई फसाइएको’ दाबी गरिरहेका छन् । उनीहरू अभियोग लगाउने महिलाले पठाएको भनिएका म्यासेजहरू सार्वजनिक गरिरहेका छन् भने उनीसँग असन्तुष्टहरू कृष्णदासका विरुद्धमा सक्रिय छन् ।

उनका पक्ष र विपक्षका तर्क वितर्क चलिरहेकै बेला कृष्णदास र पीडित भनिएकी महिलाबीच भएको भनिएको फोन रेकर्ड सार्वजनिक भयो । जसमा कृष्णदासले गल्ती स्विकार गरेका छन् । फोन रेकर्ड सार्वजनिक भएपछि उनी प्रतिको आशङ्का झनै बढ्यो । तर, उनको पक्षले अहिले पनि त्यो रेकर्ड नै नक्कली भएको दाबी गरिरहेका छन् । आफू पक्राउ पर्ने निश्चित भएपछि उनी हतार हतार अस्पताल भर्ना भएका थिए । अस्पतालबाटै पक्राउ परेका उनी स्वास्थ्यकै कारण देखाउँदै अस्पतालमै बसेका छन् । उनीमाथि राम्रो अनुसन्धान हुन आवश्यक छ । कृष्णबहादुर गिरी यसअघि पनि विभिन्न विवादमा आइरहेका व्यक्ति हुन् । सुनसरी मोरङ सिंचाई आयोजनाको जग्गा अतिक्रमण गरेर अपार्टमेन्ट बनाई महँगोमा बिक्री गरिरहेका उनी पहुँचकै भरमा कारबाहीबाट जोगिंदै आएका छन् । त्यसो त उनले दोहोरो नागरिकता लिएको प्रमाण पटक पटक सार्वजनिक भए पनि उनीमाथि कारबाही भएको छैन । सोलुखुम्बुमा आठ कक्षा फेल भएपछि भारत पसेका उनी पछिल्लो समय आफूलाई आयुर्वेदमा पिएचडी गरेको दाबी गर्दै आएका छन् । उनका यी विवादित विषयमाथि पनि छानबिन अघि बढ्नुपर्छ ।

महिलाले दिएको उजुरीमाथि शुरुमा कारबाही नगरेको सुनसरी प्रहरीले सामाजिक दबावपछि उनलाई पक्राउ त गरेको छ । तर, उनीमाथि कारबाही अघि बढाउन अझै आनाकानी गरेको देखिन्छ । प्रहरी प्रशासनदेखि राजनीतिकको माथिल्लो तहसम्म राम्रो पहुँच बनाएका कृष्णदासलाई कारबाही गर्न दबाव अवश्य होला । तर, यस्ता दबावको सामना गर्न डराउनु हुन्न । उनी माथि निष्पक्ष भएर छानबिन हुनुपर्छ । यदि उनका अन्य अनुयायीले भने झैं उनी निर्दोष हुन् र कसैले षड्यन्त्र गरेको हो भने त्यसतर्फ पनि छानबिन गर्न सकिन्छ । अघिल्लो घटनाक्रम र उनी नजिक भएर काम गरेका व्यक्तिहरूको दाबी सुन्दा उनी पहिलादेखि गलत धन्दामा रहेको बुझ्न सकिन्छ । उनका अनुयायीहरूले पनि अन्धभक्त बनेर होइन पटक पटक विवादमा परिसकेपछि उनलाई किन यस्ता आरोप लागिरहेका छन् भनेर सतर्क बन्नु आवश्यक छ ।