इनरुवा/ दुहबीमा दोस्रो मिनी म्याराथन प्रतियोगिता आयोजना गरिएको छ ।  स्वास्थ्यका लागि दौड भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याइएको म्याराथन प्रतियोगितालाई दुहबी जेसीजले आयोजना गरेको हो ।

दुहबी नगरपालिकाको सहकार्यमा शनिबार बिहान आयोजित म्याराथनमा तीन सय पचास जनाले सहभागिता जनाएका थिए । औपचारिक कार्यक्रमपश्चात् आयोजित म्याराथनका सहभागी ६ किलोमिटर दौडिएका थिए । प्रतियोगीतर्फका मोहनकुमार राईले प्रथम स्थान हात पारे भने किरण लिम्बू दोस्रो र रोशन राई तेस्रो भएका थिए ।

प्रथम हुने राईले मेडल र प्रमाण –पत्रसहित नगद ११ हजार १ सय पुरस्कार प्राप्त गरे । दोस्रो हुनेले ८ हजार १ सय र तेस्रो हुनेले ५ हजार १ सय हात पारे । महिलातर्फ भने सङ्गीता तामाङ प्रथम भइन् । उनलाई दुहबी टाइम्सका सञ्चालक आशिष यादवले नगद ५ हजार १ सय पुरस्कार प्रदान गरेका थिए ।

विजेताहरूलाई नगरप्रमुख वेद गच्छदारले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै गच्छदारले नगरपालिकाले खेलकुदको विकासका लागि यथेष्ट बजेट छुट्याइएको बताउँदै ठोस योजनाहरू अघि बढाइएको जानकारी दिए । कार्यक्रम संयोजक जेसी विशाल अग्रहरीका अनुसार बढ्दो विलासितासँगै अस्त–व्यस्त र दौडधुपपूर्ण जीवनले मानव स्वास्थ्यमा नराकात्मक असरहरू निम्त्याइरहेकाले जनहितमा स्वास्थ्य सन्देशका लागि म्याराथन प्रतियोगिताको आयोजना गरिएको हो ।