कालाबञ्जार/वराहक्षेत्रको राजाबासमा सम्पन्न राजाबास गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको टिडिवाइसीले उचालेको छ ।

बिहीबारको फाइनलमा टिडीवाइसीले कल्चरल ग्रीन क्लब चक्रघट्टीलाई २–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो । उपाधिसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेतामा सीमित कल्चरलले नगद ५५ हजार ५ सय रुपैयाँसहित ट्रफी पाएको छ । खेलमा भुवन बस्नेत र पुजन उप्रेतीले गोल गर्दै जिताए । खेलको म्यान अफ दी म्याच कल्चरलका ओगेल इनाबे बने ।

व्यक्तिगततर्फ बेष्ट गोलकिपर विराटनगरका पूर्ण चेम्जोङ, बेष्ट डिफेन्स विराटनगरका भुषन सुब्बा, चार गोल गरेका भुवन बस्नेत सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी मिलन राई, बेष्ट मिड फिल्डर असिम राई, राइजिङ प्येयर राजाबास युथ क्लबका विमल राई बने । उनीहरूले क्रमशः ३, ४ र ७ हजार रुपैयाँसहित ट्रफी पाएको राजाबास युथ क्लबका सचिव रोनि बिष्टले बताए ।

विजेताहरूलाई वराहक्षेत्रका नगर प्रमुख निलम खनाल, उपमेयर कमला मगर, नगरका खेलकुद संयोजक तथा ४ नम्बर वडाका वडाध्यक्ष आशाराम चौधरी, क्लबका अध्यक्ष बिशाल राईलगायतले पुरस्कार प्रदान गरे । वराहक्षेत्र–९ राजाबासस्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न भएको थियो ।