झुम्का/ अत्यधिक दुर्घटना हुने क्षेत्रका रूपमा लिइने कोशी कटान क्षेत्रमा दशैं–तिहार र छठको अवधिमा साना–ठूला गरी १६ वटा दुर्घटना भएका छन् ।

कोशी कटानदेखि सुनसरी खोलासम्मको क्षेत्रमा १६ वटा सवारी दुर्घटना भएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । इप्रका लौकहीका इञ्चार्ज शिवकुमार शर्माका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन् ।

जसमध्ये चारजना सवार मोटरसाइकल दुर्घटनामा ६ वर्षीय बालक मेहरमान मियाँको मृत्यु भएको छ । तीव्र गति, लापरबाही र मापसेका कारण बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । शर्माका अनुसार बढी मात्रामा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

इप्रका लौकहीका अनुसार विगतमा कटान क्षेत्रमा अत्यधिक दुर्घटना हुने गरेकोमा ट्राफिक र प्रहरीको उपस्थितिसँगै चेकजाँचका कारण सङ्ख्यात्मक रूपमा कमी आएको छ ।

प्रहरीले कटान क्षेत्रमा हुने लागूऔषधको कारोबार र सेवनकर्ताको सङ्ख्यामा समेत कमी आएको जनाएको छ । प्रहरी निगरानी, चेकचाँज र सीसी क्यामेरा जडानका कारण दुर्घटनासँगै लागूऔषध कारोबारमा कमी आएको इप्रका लौकहीले जनाएको छ ।