धरान/ मङ्सीर १४ गते हुन लागेको उपनिर्वाचनको लागि नेपाली काङ्ग्रेस धरान नगर समितिले तयारी तीव्र बनाएको छ । पार्टीको केन्द्रीय समितिले नगर सभापति तिलक राईको नाम मेयर पदका लागि अनुमोदन गरेपछि अहिले घरदैलोलगायतका अभियान सञ्चालन गरिरहेको छ । सभापति राईले धरान–२० नम्बर वडाका विभिन्न टोलहरूमा पुगेर भोट मागिरहेका छन् ।

२०७४ असार १४ गतेको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट नगर सभापति तिलक राई नै उम्मेदवार बनेका थिए । त्यसबेला उनले १६ हजार १ सय २ मत प्राप्त गरेका थिए । साविकको एमालेका उम्मेदवार तारा सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचनपछि हाल १३ हजारभन्दा बढी मतदाताको सङ्ख्या बढेको निर्वाचन आयोग सुनसरीले जनाएको छ ।

जसका लागि अहिले मतदाता सामु पुगेर मत माग्ने कार्य भइरहेको छ । यसक्रममा आइतबार धरान–१३ जीरोपोइन्टबाट ‘रोड शो’ कार्यक्रम सम्पन्न गरेको छ । मेयर पदका प्रत्यासी राई सहभागी नभए पनि पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । जीरोपोइन्टबाट शुरु भएको रोड शो धरान–८ लाङ्घाली चोकमा पुगेर टुङ्गिएको थियो । पार्टीका सचिव श्याम पोखरेलका अनुसार रोड शोमार्फत् धरानबासीलाई नेपाली काङ्ग्रेस पार्टीमा मतदान गर्न अभिप्रेरित गरेको बताए ।

उनले पार्टीका उम्मेदवारसहित अहिले धरानको ग्रामीण क्षेत्रमा केन्द्रित भइरहेको अवस्थामा बजार क्षेत्रमा पनि अभियान जारी रहेको सूचना प्रदान गर्न कार्यक्रम गरिएको बताए । ‘हामीले आज उम्मेदवारबिनै रोड शो गरेका हौं’ उनले भने, ‘अहिले ग्रामीण भेगमा केन्द्रित छौं । बजारमा पनि चहलपहल बढाउन उपस्थिति देखाएका हौं ।’ रोड शोमा पार्टीका जिल्ला तह, क्षेत्र तहका नेता कार्यकर्तासहित पार्टीको भातृ संस्था तरुण दल, नेपाल विद्यार्थी सङ्घ, महिला सङ्घ, दलित सङ्घ, मजदुर सङ्घका कार्यकर्ता र नेताहरू सहभागी भएका थिए ।