इटहरी/ एउटै घरका सबै जना सन्तान अपाङ्ग भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग गरेको छ । इटहरी–२ का लक्ष्मण तामाङलाई उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतमले घरमै पुगेर सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।
लक्ष्मण तामाङका चार जना सन्तानमध्ये चारै जना अपाङ्ग छन् । तामाङका १४ देखि २९ वर्षसम्मका दुई छोरा र दुई छोरी छन् । उनीहरू कोही पनि आँखा देख्न सक्दैनन् । कान्छो छोरो बाहेक कोही पनि बोल्न समेत सक्दैनन् । उठेर हिँड्न त परै जाओस्, बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ ।
अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ । तामाङ्ग परिवारमा परेको यो समस्या उहाँको मात्र होइन उहाँका साथमा उपमहानगरपालिका पनि रहेकाले जीवन निर्वाह अनुदान शीर्षकमा एक लाख रकम प्रदान गरिएको प्रमुख द्वारिकलाल चौधरीले बताए । चार जना सन्तानको यस्तो अवस्थामा उनीहरूको स्याहारको जटिल कार्यमा तल्लिन रहेकोमा प्रमुख चौधरीले परिवारको प्रशंसा गर्दै सद्भाव व्यक्त गरे ।
उपप्रमुख लक्ष्मी गौतमले यस परिवारलाई परेको समस्यामा सहयोग गर्न सर्वैसँग आग्रह गरिन् । उनले ट्रस्ट बनाएर अघि बढ्दा राम्रो हुने सुझाव समेत दिइन् । यसअघि उपप्रमुख गौतमले घरमै पुगेर चारैजनालाई अपाङ्ता परिचय पत्र रेडकार्ड दिएकी थिइन् । अहिले उनीहरूले मासिक ३ हजारका दरले भत्ता समेत पाउँदै आएका छन् । इटहरी सरकारको सहयोग प्रति आभार व्यक्त गर्दै उनीहरूका बुवा लक्ष्मण तामाङ्गले भन्नुभयो ‘गाँउ गाँउमा सिंहदरबार भन्थे, इटहरी सरकार घरमै आइपुग्यो खुशी लागेको छ ।’ १४ देखि २८ वर्षसम्मका चारै जना छोराछोरी जो आँखा देख्दैनन्, बोल्न सक्दैनन्, जीउ लल्याकलुलुक छ, उठेर बस्न सक्दैनन् ।
दिशा पिसाब पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरसफाइमा तामाङ दम्पति अहोरात्र खटिनुपर्छ । बुबा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठीक थिइन् । त्यसपछि बिस्तारै आँखा देख्न छाडिन् र एक वर्षमा पुरै आँखा नदेखिने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या थपियो । केही समयपछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन् । अरू दुईजनालाई पनि ठ्याक्कै त्यस्तै भयो ।
कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिँडडुल गर्न भने सक्छन् । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उनलाई लागेको थियो । इटहरी उपमहानगरका प्रमुख चौधरी,उपप्रमुख लक्ष्मी गौतम, वडाध्यक्ष हर्क मगरले तामाङ परिवारलाई सहयोग गर्नका लागि सबैलाई आग्रह गरे ।