इटहरी । तिहार सकियो । तर बजार क्षेत्रमा अहिले पनि देउसी भैलोका नाममा डिस्कोको झल्को दिने नाचगान चलिरहेका छन् ।
देउसी भैलो खेल्ने पहिलेको प्रचलन करिब–करिब लोप नै भइसकेको छ । अहिलेका युवा र बालबालिकामा हल्ला गर्ने र पैसा सङ्कलन गरेर भोज खानेबाहेक पुरानो संस्कृति संरक्षण गर्ने कुनै छाँटकाँट देखिँदैन । ठूला–ठूला साउण्ड बक्समा गीत घन्काउँदै हल्ला गर्दै देउसी भैलो डिस्कोमा सकिन थालेको छ ।

पहिले देउसी भैलोको साथमा आकर्षक नृत्य पनि हुन्थ्यो । मादल, खैंजडी, बाँसुरी र चाँपहरूको प्रयोग गर्ने गरिन्थ्यो । मौलिकतामा देउसी भैलो खेल्ने र आशिष दिने प्रचलन उतिबेला थियो । पश्चिमा संस्कृतिको प्रभाव र अत्याधुनिक प्रविधिका कारण पहिलेको परम्परा लोप हुँदै गइरहेको बताउँछिन् इटहरी–१९ तरहराकी सविता कार्की । अहिलेको देउसीमा रौनकता नभएको उनको बुझाइ छ ।
देउसीभैलो आजकल आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभई पैसा असुल्ने माध्यम मात्र बन्दै गएको छ ।

देउसीभैलो खेलेर तिहारमा रमाइलो गर्ने चलन पछिल्लो समय मनोरञ्जनमा सीमित भएको छ । सांस्कृतिक अतिक्रमणका कारण मौलिकता हराउँदै गएको बताउँछन् इटहरी–१ आँपगाछीका रमेशकुमार पोखरेल । राजनीतिकर्मी पोखरेल भन्छन्, ‘देउसी अहिले डिस्कोमा देखिन थाल्यो ।’

तिहारमा खेलिने देउसीभैलोको मौलिकता हराउँदै गएको छ । तिहारमा खेलिने देउसी भैलोमा आजभोलि ¥याप र हिन्दीगीतले गर्दा मौलिकता हराउँदै गएको अग्रजहरूको गुनासो छ । देउसीको मौलिकता नष्ट हुँदा अग्रजहरू चिन्तित बन्न पुगेका छन् । क्लब, समूह, सहकारी तथा जातीय सङ्घ–संस्थाहरू मौलिकतामा भन्दा पनि पश्चिमा संस्कृतिका गीतहरूमा रमाउन थालेका छन् ।

गाउँघरमा ‘झिलिमिली, झिलिमिली देउसी रे’ को आवाज गुञ्जन छोडेको भन्दै बूढापाकाहरू चिन्ता गर्ने थालेका छन् । कामको सिलसिलामा धेरै समय काठमाडौं बस्दै आएका विकास दाहाल भन्छन्, ‘विशेष गरी तिहारको रौनक हराएको छ, डिस्कोमा तिहार सकिँदै छ ।’ देउसी भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती हिन्दी गीतमा नाच्ने गरेको भन्दै संस्कृति हराउँदै गएकोमा दाहालले चिन्ता व्यक्त गरे ।

बूढापाकालाई अहिले गीत कानै फुट्ला झैँ बजाएर नाचेको पटक्कै मन पर्र्दैन । पुरानो पुस्तालाई अहिलेको देउसी भैलो पटक्कै मन परेको छैन । उनीहरू बलि राजाको गाथासहितको परम्परागत देउसी भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काई मर्काई मादलको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बूढापाका बताउँछन् ।

देउसी–भैलोमा स्थान विशेषअनुसार आफ्नो मौलिकता र विशेषता झल्कने मादल, खैंजडीसँगै गाइने बालन, भजनजस्ता मौलिक परम्परा लोप हुने स्थितिमा पुगेका छन् । परम्परागत पोसाकमा देउसीभैलो भट्याएर घरधनीले खुशी भई स्वेच्छाले दिएको दान लिनुको सट्टा ¥याप र हिन्दी गीत घन्काई हो–हल्ला मच्चाई जबरजस्ती पैसा असुल्ने माध्यम बन्न थालेको इटहरीका गोकुल दाहाल बताउँछन् ।

माग्ने माध्यम बन्दै देउसी
पछिल्लो समय देउसी भैलो खेल्नेहरूको सङ्ख्या घट्दै गएको छ । देउसी खेल्ने समूहहरू पछिल्लो केही वर्षयता घट्न थालेको छ । अहिले शहरमा देउसी खेल्नेहरूको सङ्ख्यासमेत कम हुँदै गएको छ । तर विभिन्न जातीय संस्थाहरू भने समूहमै देउसी खेलेर रकम उठाउने माध्यम बनेको छ । जातीय सङ्घ–संस्थाहरू देउसी खेल्नभन्दा पनि रकम उठाउन व्यस्त देखिन्छन् ।