पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा जडान गरिएको सिसी क्यामेरा चार महिनादेखि बन्द अवस्थामा रहेको पाइएको छ । 

यासोक बजारका विभिन्न स्थानमा जडान गरिएको क्यामेरा र डिजिटल डिस्प्ले बिग्रिएपछि चार महिनादेखि बन्द भएको हो । यासोक बजारको शान्ति सुरक्षा कायम गर्न गाउँपालिकाको ८ लाख ७९ हजार ८ सय ४२ रुपैयाँमा लजिक इन्फोसिस प्रा.लि. काठमाडौंमार्फत् ११ वटा क्यामेरा यासोक बजारमा जडान गरिएको थियो । जडान गरेको सबै सिसी क्यामेरा २०८१ असार ११ मा बिग्रिएका थिए । जडान गरेको समयमै क्यामेराको मनिटर नचल्ने अवस्थामा पुगेको थियो । पहिलो पटक जसोतसो क्यामेरा र मनिटर गाउँपालिकाले मर्मत गरेको थियो ।

तर पुनः २०८२ वैशाखमा बिग्रिएपछि भने निगरानी सेवा प्रभावित भएको हो । गाउँपालिकामा क्यामेरा र मनिटरमा समस्या आएको विषयमा पटक–पटक जानकारी गराएको प्रहरीले जनाएको छ । 

जडान गरिएको सिसी क्यामेरा पटक–पटक बिग्रिँदै आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ । “जडान गरिएकामध्ये कति वटा क्यामेरा बिग्रिएका छन् । त्यसलाई हेर्न प्रयोग गर्ने डिस्प्ले पनि लामो समयदेखि बिग्रिएको छ । जसले गर्दा कार्यालयको निगरानी कक्षमा समस्या परेको छ”–प्रहरी प्रमुख मदनकुमार मैनालीले भने । यता गाउँपालिकाले भने बिग्रिएका क्यामेरा र डिस्प्ले मर्मत सम्भार गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको जनाएको छ ।