उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मीको १ नं. प्रदेशको मुख्यमन्त्री कार्यालय विराटनगरमा सरुवा भएको छ ।
नगर प्रमुख खड्ग फागोसंग विवाद भएपछि रेग्मीले डेढ साता अघि उर्लाबारी छाडेका थिए । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रेग्मीलाई कर्मचारी समायोजन ऐन २०७५ अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. १ विराटनगरमा सरुवा गरेको हो ।
साउन २ गते उर्लाबारी आएका रेग्मी दुई महिनाको अवधिमा आफ्नै कार्यालयका कर्मचारी तथा नगर प्रमुखसंग पटक–पटक विवादमा आए पछि आफै नगर छाडेका थिए ।
मन्त्रालयले उर्लाबारी नगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृत शम्भुप्रसाद भट्टराईलाई प्रमुख प्रशासकिय अधिकृतको निमित्वको जिम्मेवारी दिएको छ । मन्त्रालयले भट्टराईलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ को उपदफा(४) अनुसार जिम्मेवारी दिएको नगर प्रमुख फागोले बताएका छन ।
दशैको आउनु अघि कार्यालय प्रमुखले नगर छाडेपछि साउन देखि तलव विहीन भएका नगरका ४ सय ५३ जना शिक्षक तथा कर्मचारीले तलव सहितका अन्य सुविधा रोक्का भए पछि नगर प्रमुख फागोले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाण्डौमा एक साता सम्म धर्ना दिएर भट्टराईका नाममा जिम्मेवारी दिलाएर तलव वितरण गराउने कार्य गराएका थिए । स्मरण रहोस रेग्मी नगरपालीकामा हाजीर हुनु अघि पनि भट्टराईले नै निमित्व प्रमुख प्रशासकिय अधिकृत भएर कार्य संम्पादन गर्दै आएका थिए ।