भण्टावारी / मुआब्जा माग्दै ४० दिनदेखि रिले अनशनमा रहेका कोशी पीडितहरुको आन्दोलन आजदेखि स्थगित भएको छ । मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै कोशी ब्यारेजमा अनशन बसेका कोशी पीडित संघर्ष समितिको बुधबार बसेको बैठकले तत्काल आन्दोलन स्थगित गर्ने निर्णय गरेको सचिव काशिम अन्सारीले बताए ।
नेपालीहरुको चाडपर्व नजिकिदै गएको कुरालाई हेरेर रिले अनशन स्थगित गर्ने निर्णय भएको हो ।
आफूहरूको माग सम्बोधन गराउन सरकार सकारात्मक देखिएको बताउदै सचिव अन्सारीले छिट्टै प्रधानमन्त्री आफैले यसबारेमा घोषणा गर्ने विश्वास समेत व्यक्त गरे ।

सचिव अन्सारीका अनुसार बिहीबार कोशी ब्यारेजमा एक औपचारिक कार्यक्रमको आयोजना गरी आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताए । गत साउन ३२ गतेबाट आन्दोलन सुरु गरेका कोशी पीडितहरुले नेपाल भारत सरकारबीचमा भएको कोशी सम्झौता कार्यान्वयन गर्दै निमुखा ,गरिब जनताको जायज माग सम्बोधन गराउन दबाब दिदै आएका थिए ।
कोशी ब्यारेज निर्माण भए यता तीन पुस्तादेखि पीडितहरु मुआब्जाको पर्खाइमा रहेका छन् ।