उदयपुर/ मिर्गौला पीडित टीका बस्नेत वैदेशिक रोजगारीमा विदेश गएका श्रीमान्को सहारा नपाएपछि अलपत्र परेकी छन् । चौदण्डीगढी नगरपालिका–९ हडिया निवासी पीडित बस्नेत विदेश गएका श्रीमान्को सहारा नपाएपछि अलपत्र परेकी हुन् ।

बस्नेतको श्रीमान् तेजबहादुर थापा करिब ३ वर्ष पहिले वैदेशिक रोजगारमा कतार गएको उनले बताइन् । विदेश पुगेपछि आफ्नो वास्ता गर्न छाडेको उनले दुःखेसो पोखेकी छन् । आफ्नै श्रीमान्को सहारा नपाएपछि अहिले माइतीको साथ सहयोगमा आफू रहेको पीडित बस्नेतले बताइन् ।

करिब ४ वर्ष पहिलेदेखि दुवै मिर्गौलाले काम गर्न छाडेको पीडित बस्नेतले बताइन् । माइतीघर उदयपुरगढी नेपालटार भएको बस्नेतले थापासँग मागीविवाह गरेकी थिइन् । विदेश पुगेका श्रीमान्ले ‘मैले अर्कै विवाह गरेँ भन्दै वास्ता गर्न छाडेको’ उनले बताइन् ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारको क्रममा लाखौँ खर्च भइसकेकाले श्रीमान्ले छाडेको पीडित बस्नेतले बताइन् । उपचार गर्ने क्रममा आर्थिक अवस्था नाजुक भएपछि श्रीमान्ले ‘तँ जे सुकै गर्, मलाई तेरो कुनै मतलव छैन । तलाई म केही गर्न सक्दिनँ’ भन्ने गरेको उनले बताइन् ।

विदेश पुगेका श्रीमान्ले करिब एक वर्षसम्म उपचार खर्चको लागि पैसा पठाएको उनले बताइन् । त्यसपछि वास्ता गर्न छाडेकाले पाँच वर्षीया छोरीसहित आफू बिचल्लीमा परेको भन्दै सबैसँग सहयोगको अपिल गरेकी छन् । विदेशमा भएका श्रीमान्लाई स्वदेश फर्काई आफ्नो उपचारका लागि सहयोग गरिदिन पीडित बस्नेतले अनुरोध गरेकी छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण बस्नेतले मिर्गौला फेर्न सकेकी छैनन् । अहिले शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निरन्तर डायलाइसिस गर्दै रहेको पीडित बस्नेतले बताइन् ।

मृगौला प्रत्यारोपणका लागि उनले सबैसँग सहयोगको याचना गरेकी छन् । मिर्गौला फेर्न करिब २५ लाख खर्च लाग्ने भएकाले तत्काल खर्च जुटाउन डाक्टरहरूले सल्लाह दिएको पीडित बस्नेतले बताइन् ।