भण्टाबारी/ बाढीले भत्काएको बाटो बनाउन वडा कार्यालय र रामधुनी नगरपालिकाले चासो नदेखाएपछि डुम्राहाका स्थानीय आफैले बनाएका छन् ।

चार महिनाअघि नै बाढीले भत्काएको बाटो बनाउन पटक–पटक आग्रह गरेपनि कतैबाट कुनै सुनुवाइ नभएपछि रामधुनी नगरपालिका–८ डुम्राहाका स्थानीयले आफ्नै सक्रियतामा भत्केको बाटो बनाएका हुन् ।

बाटो बनाउन आग्रह गर्दा जनप्रतिनिधिले आश्वासन दिने काम मात्र गरेकोले आफ्नो नेतृत्वमा भत्केको पाँच मिटरको बाटो गाउँलेहरूले बनाएको स्थानीय ९२ वर्षीय गोलाई दास चौधरीले जानकारी दिए । उनले भने, ‘हामी आफै बनाउँछौं आफू हिँड्ने बाटो ।’

रामधुनी नगरपालिकाका मेयर र वडाध्यक्षहरूलाई आवात–जावत गर्न कठिनाइ भएको हुँदा बाटो बनाइदिन आग्रह गरे पनि आजभोलि गर्दागर्दै चार महिना बिताएको उनले गुनासो गरे । नगरपालिकाले माटो पुरेर बाटो बनाउन तयार भए पनि पानीको निकासको लागि होमपाइप जडान गरिदिन आग्रह गर्दा नमानेको अर्का स्थानीय दीपक पोखरेलले बताए ।

आफूहरूको आग्रहमा इनरुवा नगरपालिकाका मेयर राजन मेहताले ३ वटा होमपाइप उपलब्ध गराइदिएपछि सोमबार स्थानीयले बाटो बनाएको उनले बताए ।

bato1