भद्रपुर । ठेलाभेनमा पानी पुरी राखेर गाउँ/गाउँ डुलेर परिवार पाल्दै आइरहेका व्यत्तिलाइ नै बोनम्यारो(रक्त क्यान्सर) रोग लागेपछि परिवार विचल्लीमा परेका छन् । आर्थिक अभावका कारण एक वर्षदेखि झापा भद्रपुर नगरपालिका ९ का ४९ वर्षीय निर्मल दाहाल घरमा नै थलापरेपछि परिवार सङ्कटमा परेका छन् । चन्द्रगढीको प्रज्ञा एकाडेमी पूर्व पट्टीको गेट आगडि पाँच धुर जमिनमा घर बनाएर बस्दै आइरहेका क्यान्सर पीडित दाहाललाई बचाइ दिन उनका परिवारजनले आग्रह गरेका छन् ।

दाहाल एकबर्ष अघि बिरामी परेर मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गराउन गएका थिए । मेचीमा उपचार सफल नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको र त्यहाँका चिकित्सकले बोनम्यारो क्यान्सर भएको पुष्टि गरेको उनकी श्रीमती मञ्जुले बताइन् । हालसम्म श्रीमानको उपचारमा पाँच लाख बढीको रकम खर्च भइसकेको उनले बताइन् । श्रीमानले कमाएको रकम, गरगहना सवै उपचारमा खर्च भइसकेको र सम्पत्तिको नाममा पाँच धुर जमिन मात्र रहेको उनले पीडा सुनाइन् ।,

बोनम्यारो प्रत्यारोपण तत्काल गर्नुपर्ने चिकित्सकले सल्लाह दिएपनि उपचार गराउन रकम नभएको उनले सुनाइन् । उपचार खर्च जुटाई श्रीमानलाई बचाइन दिन सबै समक्ष उनले अपिल गरेकी छन् । उपचारका लागि ४ देखि ५ लाख खर्च हुने भएकोले प्रत्यारोपण गराए श्रीमानलाई बचाइदिन उनले अनुरोध गरिन् ।

मेची अञ्चल अस्पताल, भारतको सिलगुडी, बिर्तामोडको विएण्डसी अस्पताल, विराटनगरको नोबेल अस्पताल, धरानको घोपा र काठमाडौँको सिभिल अस्पतालमा उपचार गराउँदा गराउँदै पाँच लाख बढी रकम खर्च भइसकेको उनले बताइन् । गरिबीका कारण उपचार गराउन सम्भव नभएपछि मर्नुको विकल्प नभएको क्यान्सर पीडित दाहालले पीडा सुनाए । बोनम्यारो प्रत्यारोपणको तत्काल शल्यक्रिया गर्न नसके अबको तीनदेखि चार महिना भित्र मृत्यु हुने चिकित्सकहरूले बताएको गहभरी आसु पार्दै उनले सुनाए ।

छरछिमेकले चन्दा सङ्कलन गरेर हालसम्म मेरो उपचार गराइरहेको उनले सुनाए । नियमित चेक जाँचका लागि अस्पताल धाइ रहेको उनले बताए । दाहालको परिवारमा श्रीमती मञ्जु, १५ वर्षकी छोरी र ११ वर्षका छोरा रहेका छन् । छरछिमेकबाट अहिले सम्म ३० देखि ४० हजार रुपैयाँ चन्दा उठाएर दिएको र त्यो रकमले उपचार नहुने भएकाले सबै पक्षले सहयोग गरिदिनु हुन छिमेकी विशाल रिमालले बताए ।

सहयोगका लागि क्यान्सर पीडित दाहालकी श्रीमती मञ्जु दाहालको नाममा रहेको चन्द्रगढीस्थित सिद्धार्थ बैङ्कको खाता नम्बर ०२२१५२१४०९५ आर्थिक सहयोग रकम जम्मा गरिदिनु हुन रिमालले अनुरोध गरेका छन् ।