इटहरी । –२०७२ साल फागुन २० गते इटहरी–२ की १३ वर्षीया बालिका सपना भुजेलको हत्या गरेर खोलामा फालेको अवस्थामा शव फेला पर्यो तर हत्या कसले र किन ग¥यो भन्ने विषयमा अहिलेसम्म पत्ता लागेको छैन । तत्कालीन इटहरीका डिएसपी ओम अधिकारीले हत्या भएको बताए पनि हत्यारासम्म प्रहरी पुग्न सकेन ।

–२०७० मङ्सिर ४ गते खनारबाट सुवास काफ्ले हराए । पछि मङ्सिर ६ गते तत्कालीन हाँसपोसा गाविसको चारकोसे जङ्गलक्षेत्रमा जलेको अवस्थामा सुवासको शव भेटियो । सुवासकी श्रीमती ममता काफ्लेले श्रीमान्को हत्या आफ्नै जेठाजु रमेश काफ्ले, सुवास गौतम र रमेशका सवारी चालक नरेश चौधरीले गरेको भन्दै उनीहरूविरुद्ध २०७१ वैशाख १९ गते किटानी जाहेरी दिइन् । जेठाजु रमेशसहितका केही पुर्पक्षका लागि जेल चलान भए पनि रमेश अन्ततः निर्दाेष साबित भएर छुटे । तर प्रहरीले सुवासको हत्या कसले गर्यो अझै पत्ता लगाउन सकेको छैन ।

–२०६४ साल चैत ५ गते मङ्गलबार इटहरीको दन्तकाली हार्डवेयर सञ्चालक दम्पती कैलाशचन्द्र अग्रवाल र उनकी पत्नी शान्तादेवी अग्रवालको हत्या भयो । हात बाँधिएको, मुखमा पट्टी लगाएको अवस्थामा शव भेटिएको थियो । दुवैलाई डोरीले बाँधेर बेल्चा प्रहार गरेको निष्कर्षमा प्रहरी पुग्यो तर त्यो हत्या कसले गर्यो ? १० वर्ष बित्दा पनि अग्रवाल दम्पती हत्यारा प्रहरीले पत्ता लगाउन सकेको छैन । हत्या किन गरियो ? कसले गर्यो ? पत्ता नलाग्दा पीडित परिवारले अहिलेसम्म न्याय पाउन सकेको छैन ।

इटहरीमा भएका ठूला तर दोषी पत्ता लगाउन नसकिएका केही घटनाका उदाहरण हुन् यी । इटहरीमा जसरी विकास हुँदै छ, त्यसैअनुसार अपराधका घटना पनि बढिरहेका छन् । ठूलो शहर बन्दै गएको इटहरीमा ठूलै किसिमका अपराध हुँदै छन् । घटना हुनै नदिन जति प्रयास गर्नुपथ्र्यो त्यो त भएन नै । तर अपराध भएपछि पनि त्यसलाई सही समाधान गर्दै दोषीलाई कानूनी कठघरामा उभ्याउन नेपाल प्रहरी चुक्दै आएको छ । विगतदेखि वर्तमानसम्म इटहरीमा भएका हत्याका घटनामा दोषी पत्ता लगाउन सकेको छैन ।

लामो समयदेखि टुङ्गोमा नपुगेका इटहरीका आपराधिक घटनाका फाइलहरू खोज्दै गरेका इटहरीका नयाँ डिएसपी धर्मराज भण्डारीले पुराना घट्नाका फाईलहरु खोज्ने बताएका छन । भर्खरै इटहरी सरुवा भएर आएका डिएसपी भण्डारीले लामो समय देखि पेण्डीङ रहेका मुद्धामा आफु मज्जाले लाग्ने बताए ।
अनुसन्धानरत फाईललाई प्रथामिकतामा राखेर काम गर्ने बताएका हुन । प्रहरीले पुरानो घट्ना पत्ता लगाउन सकेन भनेर गुनासो आउँन नदिन पुरानो फाईल खोज्न आवश्यक रहेको बताए । ‘प्रहरीलाई हेर्न नजर राम्रो बनाउनपनि पुरानो फाईल खोज्नु पर्छ’, उनी भन्छन् ।

शुक्रबार आफ्नै कार्यलयमा पत्रकार सम्मेलन गदै डिएसपी भण्डारीले टुंगोमा नपुगेका पुराना फायलहरू पुनःखोल्ने बताएका हुन । अपराध अनुुसन्धानका घटनाहरूमा बढी ध्यान केन्द्रित गर्ने उनको प्रतिबद्धता थियो । साना देखि ठुला अपराधिक घटनालाई निगरानीमा राख्ने बताएका हुन। इटहरी क्षेत्रमा अहिले लागु औषध कारोबार, ठगि जस्ता घटनाहरू प्रहरीका लागि मुख्य चुनौती बनेकोले यसलाइ निर्मुल बनाउन बिशेष प्रहरी परिचालन गरी यस्ता घटनाहरूलाइ सुक्ष्म तरिकाले अनुसन्धान गरीने बताए ।