इनरुवा/ सुनसरीको हरिनगर गाउँपालिका –३ मा रहेको अनसुइया कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष रामेश्वरप्रसाद मेहताले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

स्थानीय विजयकुमार मेहताले सहकारी सस्थाका अध्यक्ष रामेश्वरले कृषि ज्ञान केन्द्र सुनसरीबाट आएको अनुदान रकममा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दिएको हो । सहकारी संस्थाका अध्यक्ष मेहता सहित ज्ञान केन्द्रका कर्मचारीहरूको मिलोमतोमा ज्ञान केन्द्रबाट आएको २५ लाख रुपैयाँमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीमा उजुरी दिएको हो ।

ज्ञान केन्द्रबाट १५० बिगहा जग्गामा तरकारी खेती गर्नका लागि २५ लाख रुपैयाँ दिएको भए पनि कामै नगरी झुटो र फर्जी बिल पेश गरेर भुक्तानी लिएकाले आवश्यक छानबिन गरी कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी सुनसरीमा दिएको उजुरीको दर्ता नम्बर ६२२५ सी रहेको उजुरीकर्ता विजयकुमार मेहताले बताए ।

सहकारी संस्थामा आबद्ध कृषकहरूले १५० विग्हा जग्गामा तरकारी खेती गरेको भनी झुटो विवरण बुझाएको, बजेट आएको विषयमा सहकारीका सदस्यहरूलाई जानकारी समेत नदिएको र कार्यालयका कर्मचारीको मिलोमतोमा २५ लाख हिनामिना गरेको भन्दै आवश्यक कारवाही गर्नका लागि समेत अख्तियारसग माग गरेको निवेदक मेहताले बताए ।

उजुरीकर्ता मेहताले दिएको उजुरीको बोधार्थ जिल्ला प्रशासन कार्यालय सुनसरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय नक्साल समेत पठाइएको छ ।

यता अनसुइया कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामेश्वरप्रसाद मेहताले आफूले कार्यालयबाट पाएको बजेटका आधारमा काम गरेको दाबी गरे । उनले स्थानीय कृषकहरूलाई तालिम, विभिन्न किसिमका औजार उपकरणहरू सरोकारवालाहरूको रोहबरमा प्रदान गरेको प्रतिक्रिया दिए ।