सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकमाथि तीनवटा मुद्दा आकर्षण हुनसक्ने देखिएको छ ।
उनले सहकारीको पासबुक दुरुपयोग गरी सुनमा लगानी गरेका कारणले पनि उनीमाथि ठगी, सहकारी ऐन र बैङ्किङ कसूरअन्तर्गत मुद्दा चल्न सक्ने देखिएको हो । ‘तीनवटा मुद्दा चल्न सक्छ’ कानून व्यवसायी पदम इस्वो भन्छन्, ‘ठगी भइहाल्यो, अर्को सरकारी ऐन अन्तर्गत मुद्दा चल्छ, अनुसन्धानको क्रममा सुन–चाँदी व्यवसायमा लगानी गरेको देखिएमा बैङ्किङ कसूरमा पनि कारबाही हुन्छ ।’ उनका अनुसार अनुसन्धानका क्रममा सुनमा लगानी गरेको देखिने स्थिति सिर्जना भएमा राष्ट्र बैङ्कको अनुमति नलिई वित्तीय कारोकार गरेको ठहर्छ ।

यता इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले पनि बिहीबारको पत्रकार सम्मेलनमा ठगी, सहकारी ऐन अन्तर्गत मुद्दा चल्ने बताएका थिए । त्यस्तै बैङ्किङ कसूरमा पनि मुद्दा चल्न सक्ने उनले सङ्केत गरेका थिए । ‘सहकारी ऐन अन्तर्गत मुद्दा चलाउँछौं’ उनले भने, ‘बैङ्किङ कसूरमा पनि मुद्दा चल्न सक्छ ।’

तिर्न नसके के हुन्छ ?

बचतकर्ताहरूको बिगो दाबीअनुसार रकम भुक्तान गर्न नसकेको अवस्थामा अध्यक्ष विकलाई बिगोअनुसारको जेल सजायको व्यवस्था हुने अपराध संहिता ऐन–२०७४ मा उल्लेख छ । कानून व्यवसायी इस्वोका अनुसार नयाँ अपराध संहितामा एक दिन बराबर ३ सय रुपैयाँ काटिन्छ । त्योअनुसार एक वर्षमा १ लाख ९ हजार ५ सय रुपैयाँमात्रै काटिन्छ । हालको अपराध संहिताले रकम असुली नभइञ्जेलसम्म ठगीका अभियुक्त काराबास बस्नुपर्ने व्यवस्था गरेको छ ।