भोजपुर/ जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिहेका छन् । यसैका उदाहरण बनेका छन भोजपुरको पौवादुम्मा गाउपालिका स्थित तिवारी भञ्याङका युवक दिपक सुवेदी ।
विदेश बसेर फर्केपछि सुवेदीले करिव ५ वर्ष अघि देखि व्यवसायिक रुपमा खुकुरा पालन गरिरहेका छन । शुरुमा वोईलर जातको कुखुरा पालनमा लागेका उनले अहिले लेयर्स जातका कुखुरापालन गरिरहेका हुन । उनले सञ्चालनमा ल्याएको ‘सुवेदी पोल्टीे फर्म’मा अहिले २७ सय कुखुरा छन् भने ती कुखुराले दैनिक ११ सय अण्डा उत्पादन गर्दै आएका छन् ।
जिल्लालाई अण्डामा आत्मनिर्भर वनाउने लक्ष्यका साथ काम गरिरहेको वताउने सुवेदीले मासिक रुपमा एक लाख देखि एक लाख ४० हजार सम्म आम्दानी गरिरहेको बताए । सुवेदी भने ‘‘ विदेशमा पसिना बगाइयो, त्यहाँको दुख सम्झेर मलाई स्वदेशमा नै काम गर्न इच्छा जाग्यो अहिले मासिक एक लाख ४० हजार सम्म आम्दानी गरिहेको छु ।’’
सुवदीले अहिले पाँच जनालाई रोजगारी समेत दिएका छन । ‘‘पहिला आफै रोजगारीका लागि विदेश गए, हामीमा व्यवसायिक सिप नहुँदा दुःख पाइदो रहेछ, अहिले आफैले पाँच जनालाई रोजगारी समेत दिएको छु । आत्मा निर्भर बन्नका लागी यूवाहरु जागरुक हुनु पर्दोरहेछ नहुने भन्ने केही छैन उनले भने ।’’
उनले उत्पादन गरेका अण्डा अहिले जिल्ला संगै बाहिरी जिल्लामा समेत जाने गरेको छ । अहिले सम्म करिव ५० लाख लगानी भइसकेको उनेको भनाई छ । शुरुमा खास सहयोग नपाएको भएपनि अहिले गाउँपालिकाले पाँच सय चल्ला र २० वोरा चारो उपलब्ध गराएको सुवेदीले बताए । गाउँपालिकाले युवालाई लक्षित गरि विभिन्न खाल्का सहयोग समेत गरिरहेको गाउपालिका अध्यक्ष किरण राईले बताए ।
अध्यक्ष राईले भने पछिल्लो समय गाउँपालिकाका युवाहरुमा कृषि प्रतिको मोह बढेको छ ,त्यस्ता यूवाहरुलाई हामी सहयोग गरिरहेका छौ । अध्यक्ष राईका अनुसार गाउँपालिकाले उनिहरुलाई प्राविधिक सहयोग संगै अनुदानको पनि व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरुमा कृषि प्रतिको मोह बढ्दै गएको गाउँपालिकाकी उपाध्यक्ष सम्झना राईले बताईन । युवाहरुमा आएको व्यवासाय प्रतिको उत्साहको कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा योजना निर्माण गरेर विदेश जाने युवाको संख्यामा कमि ल्याउने गाउँपालिकाको योजना रहेको छ ।