पाँचथर / मेची पहाडमा उत्पादित विद्युतलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने १३२ केभीए विद्युत प्रशारण लाइन काबेली करिडोरले पूर्णता पाएको छ । करिडोरको अन्तिम खण्डको निर्माण कार्य सकिएसँगै शुक्रबारदेखि उक्त खण्डमा परीक्षण प्रशारण सुरु गरिएको हो ।
झापाको लखनपुरदेखि पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर करिडोेरको दुरी रहेको छ । करिडोेरको झापाको लखनपुर, इलामको गोदक, पाँचथरको थापाटार र अमरपुरमा गरी चार वटा सवस्टेशन रहेका छन् । अन्तिम खण्डको ३१–३४ नम्बर टावरबीचको दुई किलोमिटर दुरीमा तार जोड्ने काम सकिएसँगै आयोजनाले दश बर्ष पछि पूर्णता पाएको हो ।
लखनपुर–गोदक–थापाटार खण्ड यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा रहेको थियो । काबेली करिडोेरमार्फत् इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट उत्पादित तथा निर्माणधिन अवस्थामा रहेका गरी १७० मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिने बताइएको छ । आर्थिक वर्ष २०६६÷६७ देखि करिडोरको काम सुरु भएको थियो ।
सम्झौता अनुसार आर्थिक बर्ष २०७१÷७२ भित्र करिडोरको काम सम्पन्न गर्नुपर्ने थियो । तर काम गर्दै जाने क्रममा आएका विभिन्न समस्याहरुका कारण आयोजना सम्पन्न गर्न समय लागेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । काबेली करिडोर सवस्टेशन निर्माणको काम भारतीय कम्पनि एविविले गरेको थियो भने ट्रान्समिसन लाइनको काम जगुवार ओभरसिस एण्ड एस्टर प्रालिले ठेक्का पाएको थियो ।
ग्रामीण विद्युतीकरणसहित कूल तीन अरब ५९ करोडलागतमा आयोजना सम्पन्न भएको प्रमुख द्विवेदीले बताए । करिडोेर निर्माणका लागि विश्व बैंकले लगानी गरेको हो ।