पाँचथर/ निर्माण शुरु भएको झण्डै छ वर्षपछि तल्लो हेंवा जलविद्युत् आयोजनाको निर्माणकार्य सम्पन्न भएको छ ।
निर्माण सम्पन्न भएसँगै आयोजनाबाट उत्पादित २२.३४ मेगावाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । उत्पादित विद्युत् १३२ केभिए विद्युत् प्रशारण लाइन काबेली कोरिडोरको फिदिम–४, थापाटार सवस्टेशनबाट केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । उक्त आयोजनाको ४ साउनबाट परीक्षण उत्पादन शुरु भएको हो । परीक्षण प्रशारणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने आयोजनाका निर्देशक दीपेन्द्र आङ्बोले बताए ।
आयोजनाबाट प्रतिदिन पाँच लाख ७० हजार युनिट उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर नामेश्वर यादवले बताए । उक्त परिणामको विद्युत्बाट प्रतिदिन २२ लाख रुपैंयाँसम्म आम्दानी हुने बताइएको छ । अहिले २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा मङ्सीरदेखि वैशाख महिनामा भने खोलामा पानी घट्ने हुनाले १२ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुने बताइएको छ ।
फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भएर बग्ने हेंवा र फिदिम नगरपालिकामा पर्ने फेमेखोलाको पानीबाट माउण्टेन हाइड्रोपावर कम्पनीले आयोजना निर्माण गरेको हो । फिदिम–४, सारान्थामा पावरहाउस रहेको उक्त आयोजनाको प्रभावक्षेत्र फिदिम नगरपालिका–४, ११ र हिलिहाङ गाउँपालिका–७, हो । आयोजनाको तीन सय मिटर सुरुङ र छ सय मिटर पेनस्टक रहेको छ ।
२०७४ असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम शुरु भए पनि आयोजना निर्माण अवधिमा आएका विभिन्न समस्याहरूका कारण निर्धारित समयभन्दा एक वर्षभन्दा बढी समयमा मात्र सम्पन्न गर्न सकिएको आयोजनाका प्रमुख गणेश सुब्बाले बताए । १२ वटा वाणिज्य बैङ्कको ७० प्रतिशत लगानी रहेको आयोजना ६६ करोड लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा बढेर ७० करोड पुगेको आयोजना प्रमुख सुब्बाले बताए ।