विराटनगर । १ नम्बर प्रदेश सरकारले जिल्लागतरूपमा विनियोजन गरेको बजेट खर्चमा अन्य जिल्लाको तुलनामा मोरङ निकै कमजोर देखिएको छ ।
१४ जिल्ला रहेको प्रदेशमा विनियोजन गरेको पुँजीगत खर्चतर्फ मोरङमा ४० दशमलव १८ प्रतिशत मात्र खर्च भएको हो । जुन अन्य जिल्लाको तुलनामा निकै कमजोर देखिएको हो ।
सबैभन्दा बढी बजेट खर्च गर्नेमा तेह्रथुम अग्रपंक्तिमा छ ।

प्रदेश सरकारले विनियोजन गरेकोमध्ये ८३ दशमलव ८२ प्रतिशत बजेट तेह्रथुमले खर्च गरेको थियो । प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय विराटनगरले दिएको जानकारीअनुसार तेह्रथुम जिल्लाले चालूतर्फ ८८ दशमलव १२ प्रतिशत र पुँजीगततर्फ ८० दशमलव ६५ प्रतिशत बजेट खर्च गरेको थियो । तेह्रथुममा चालूतर्फ १४ करोड र पुँजीगततर्फ १९ करोड बढी रकम विनियोजन गरिएको थियो । अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनमा मोरङमा भने अत्यन्त न्यून खर्च भएको देखिएको छ ।

मोरङमा चालूतर्फ ५१.६२ प्रतिशत र पुँजीगततर्फ ४०.१८ प्रतिशत रकम मात्र खर्च भएको छ । प्रतिशतमा कम खर्च भएको देखिए पनि मोरङमा चालूतर्फ ६ अर्ब २९ करोड रुपैयाँ बजेट खर्च भएको छ । त्यसैगरी पुँजीगततर्फ २ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको छ । प्रदेश राजधानी भएका कारण मन्त्रालयहरूका लागि विनियोजन भएको सबै बजेट मोरङमा देखिने भएको हुँदा जिल्लामा कम खर्च भएको जस्तो देखिएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

प्रदेश सरकारले स्थानीय तहलाई दिएको समानीकरण अनुदान, विशेष अनुदान, निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा प्रदेश मातहतका कार्यालयहरूमार्फत् गएको सबै बजेट कार्यान्वयनमा तेह्रथुमपछि खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र धनकुटा पनि अगाडि देखिएका छन् । खोटाङले ८३.१२ प्रतिशत बजेट खर्च गरेको छ भने सोलुखुम्बुले ८१. ४९ प्रतिशत खर्च गरेको छ । ताप्लेजुङले ८० .४३ प्रतिशत र धनकुटाले ८०.५४ प्रतिशत बजेट खर्च गरेको कार्यालयले जनाएको छ । बजेट कम खर्च गर्नेमा भोजपुर जिल्ला पनि देखिएको छ ।

भोजपुरले प्रदेश सरकारले विनियोजन गरेको कुल बजेटको ५९.५६ प्रतिशत मात्र खर्च गरेको छ । भोजपुरले चालूतर्फ प्राप्त भएको २० करोडमध्ये १५ करोड खर्च गरेको थियो भने पुँजीगततर्फ प्राप्त भएको ८४ करोड रुपैयाँमध्ये ४७ करोड ६५ लाख रुपैयाँ मात्र खर्च गरेको थियो । प्रदेशले पठाएको बजेटबाट पाँचथरले ७८ प्रतिशत खर्च गरेको छ भने इलामले ७७ प्रतिशत, सङ्खुवासभाले ५५ प्रतिशत, ओखलढुङ्गाले ६१ प्रतिशत, उदयपुरले ६८ प्रतिशत, झापाले ७० प्रतिशत र सुनसरीले ६५.६९ प्रतिशत बजेट खर्च गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारले ३६ अर्ब ४३ करोड १० लाख ४० हजार ९ सय ५२ रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये २१ अर्ब १८ करोड ३७ लाख ६० हजार १२ रुपैयाँ खर्च गरेको थियो । जुन कुल बजेटको ५८.५१ प्रतिशत भएको कार्यालयले जनाएको छ ।