पाँचथर । जिल्लाको सिदिन र एकतिनमा ०७३÷७४ देखि शुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ । फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार गरिएको हो ।
अलैँची जोन एकाइ कार्यालयका कृषि अधिकृत प्रकाश विश्वकर्माका अनुसार पाँच सय ११ हेक्टर जग्गाबाट शुरु गरिएको उक्त कार्यक्रम हाल एक हजार ६५८ हेक्टर क्षेत्रफलसम्म विस्तार भएको छ ।
आव ०७५÷७६ मा तीन लाखभन्दा बढी उन्नत जातका बिरुवा सो क्षेत्रमा वितरण गरिएको विश्वकर्माले बताए । उनका अनुसार क्षेत्र विस्तार गरी उचाइका आधारमा बिरुवा वितरण गरिएको हो ।
फालेलुङ गाउँपालिका–२ मा जिर्मले र गोल साई जातको बिरुवा वितरण गरिएको छ । वडा नम्बर १ मा राम साई जातका बिरुवा वितरण गरिएको छ । यस्तै वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मा राम साई, सेरेम्ना र भार्लाङ जातका बिरुवा वितरण गरिएको विश्वकर्माले जानकारी दिए ।
बजारीकरणलाई लक्ष्य गरी अलैँचीको आन्तरिक खपत वृद्धि गर्न जोन एकाइ कार्यालय, अलैँची जोन कार्यालयले अलैँचीको धुलो, मसला, गरम मसला, गोटा अलैँची, प्याकेजिङ गरी बजारीकरण गर्न विभिन्न कृषक समूहलाई अनुदान उपलब्ध गर्न थालिएको विश्वकर्माको भनाइ छ ।
– रासस