उदयपुर/ आर्थिक वर्ष २०७५/ ७६ मा उदयपुरमा आएको बजेटमध्ये करिब एक अर्ब ३६ करोड फ्रिज भएको छ । सरकारले सङ्घ र प्रदेशमार्फत् विभिन्न विकास निर्माणका लागि पठाएको कुल बजेटको २७.५ प्रतिशत बजेट फ्रिज भएको हो ।

सङ्घको एक अर्ब ८१ लाख ८५ हजार दुई सय ९६ रुपैयाँ र प्रदेशको ३५ करोड ६ लाख १४ हजार दुईसय ७५ रुपैयाँ फ्रिज भएको कोलेनिकाको तथ्याङ्कले देखाएको छ भने स्थानीय तहमा भएको फ्रिज बजेटको विवरण आउन बाँकी रहेको छ । पुरानै परम्पराअनुसार असारे कामले ५० प्रतिशतभन्दा बढी योजनाका काम सम्पन्न गरेर भुक्तानी पाएको देखिए पनि ७२.५ प्रतिशतभन्दा बढी काम हुन नसकेको कोलेनिकाका प्रमुख कोष नियन्त्रक हीरा न्यौपानेले बताए ।

आर्थिक वर्ष २०७५/७६ मा सङ्घीय सरकारमार्फत् पुँजीगततर्फ चार अर्ब ४४ करोड २३ लाख ८६ हजार बजेट निकासा भई आएको प्रमुख न्यौपानेले बताए । स्थानीय तहलाई दिइने अनुदान रकमसमेत समावेश गरिएको उक्त बजेटमध्ये तीन अर्ब ५५ करोड ९६ लाख ७४ हजार ७१ रुपैयाँ खर्च भएको प्रमुख न्यौपानेले बताए । कुल रकमको जम्मा ८०.१३ प्रतिशत हो । यो अङ्क कोलेनिकाबाट निकासा भएको रकमको हिस्सा भएको उनले बताए ।

कोलेनिकाबाट ८०.१३ प्रतिशत बजेट निकासा भएर गएको देखिन्छ । तर निकासा भएको जति सबै बजेट खर्च हुन्छ भन्ने छैन । कतिपय रकम खर्च नभएको पनि हुनसक्ने प्रमुख न्यौपानेले बताए । २०७५/७६ को कुल बजेट नौ अर्ब ३७ करोड ६६ लाख २७ हजार नौ सय ४२ रुपैयाँ हो ।

वार्षिक चालू बजेट चार अर्ब ९३ करोड ४२ लाख ४१ हजार ९ सय ४२ मध्ये चार अर्ब ८० करोड ८७ लाख ६८ हजार पाँचसय ७४ रुपैयाँ खर्च भएको छ । यो खर्च हिस्सा कुल बजेटको ९७.४६ प्रतिशत हो । विकास बजेटको तुलनामा चालू बजेट खर्च धेरै भएको तथ्याङ्कले देखाएको छ ।

विकास बजेट ८० प्रतिशत हुँदा चालू बजेट ९७ प्रतिशत हुनु धेरै भएको प्रमुख न्यौपानेले बताए । यसले हार्डवेयरको कामभन्दा सफ्टवेयरको काममा उल्लेख्य प्रगति भएको कोलेनिकाले ठहर गरेको छ । यसरी कुल बजेट ९ अर्ब ३७ करोड ६६ लाख २७ हजार ९ सय ४२ रुपैयाँमा आठ अर्ब ३६ करोड ८४ लाख ४२ हजार ६ सय ४६ रुपैयाँ मात्र खर्च भएर बाँकी एक अर्ब ८१ लाख ८५ हजार दुई सय ९६ रुपैयाँ फ्रिज हुन पुगेको उनले बताए ।

सङ्घतर्फको रकम बढी खर्च भएको र प्रदेश तर्फको रकम ७० प्रतिशत पनि खर्च नभएको कोलेनिकाले जनाएको छ । ७० प्रतिशतमध्ये जेठ मसान्तसम्म ३२ प्रतिशत र बाँकी ३८ प्रतिशत रकम असार महिनामा मात्र खर्च भएको कोलेनिकाले जनाएको छ ।

प्रदेशतर्फको बजेट एक अर्ब ११ करोड ८२ लाख ७६ हजार दुईसय ३० रुपैयाँमध्ये ७६ करोड ७६ लाख ६१ हजार ९ सय ५५ रुपैयाँ मात्र खर्च हुन सकेको छ । प्रदेशतर्फको बजेटमा पुँजीगत ७५ करोड ९ लाख ६६ हजार थियो भने चालूतर्फ ३६ करोड ७३ लाख १० हजार दुई सय ३० थियो । त्यसमध्ये पुँजीगततर्फ ४८ करोड ८१ लाख ८७ हजार दुई सय ५४ रुपैयाँ र चालूतर्फ २७ करोड ९४ लाख ७४ हजार सातसय खर्च भएको प्रमुख न्यौपानेले बताए ।

कुल रकममध्ये ६८.६५ प्रतिशत खर्च भएको छ । त्यसमा पुँजीगततर्फ ६५.०१ प्रतिशत र चालूतर्फ ७६.०९ प्रतिशत खर्च भएको तथ्याङ्कले देखाएको छ ।

प्रदेशतर्फको रकम ३५ करोड ६ लाख १४ हजार दुईसय ७५ रुपैयाँ फ्रिज हुन पुगेको प्रमुख न्यौपानेले बताए । प्रदेश अन्तर्गतका कार्यालय खोल्नदेखि संरचना बनाउन र बजेट बाँडफाँड गर्नका लागि ढिलो अख्तियारी आएकाले खर्च हुन नसकेको कोलेनिकाले ठहर्याएको छ ।

उदयपुरका आठवटै स्थानीय तहमा आर्थिक वर्ष २०७५/०७६ को जेठ मसान्तसम्म पुँजीगत खर्च ५५.१६ प्रतिशत मात्रै खर्च भएको थियो भने बाँकी ४४. ८४ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको तथ्याङ्कले देखाएको छ ।

स्थानीय तहमा छुट्टिएको पुँजीगत बजेट चार अर्ब ३२ करोड ९९ लाख ७२ हजारमध्ये ११ महिनामा दुई करोड ३८ लाख ८३ हजार खर्च भएको थियो । एक अर्ब ९४ करोड १६ लाख ७८ हजार रुपैयाँ असार मसान्तमा निकासा भएको कोलेनिकाको तथ्याङ्कले देखाएको छ ।

यस्तै चालूतर्फ जेठ मसान्तसम्म ९२.१४ प्रतिशत खर्च भएको देखिन्छ । सङ्घ र प्रदेशको फ्रिज बजेटका तथ्याङ्क आए पनि स्थानीय तहमा के कति बजेट फ्रिज भयो भन्ने तथ्याङ्क आउन बाँकी रहेको कोलेनिकाले जनाएको छ ।