भोजपुर /  जिल्लाको अरुण गाउँपालीका वडा नम्बर ५ याकुमा डिप बोरिङबाट पानी निकालिएको छ । खानेपानी समस्या समाधान गर्नका लागी गाउँपालिकाले डिप बोरिङ गरि पानी निकालेको हो । वडामा खानेपानी अभावका कारण स्थानीयहरु बसाई सर्ने क्रम बढेकाले डिप बोरिङ प्रविधिबाट पानी निकालिएको गाउँपालीकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताए । आयोजना ४० लाख लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीले जानकारी दिए । उनले भने–“गाडी किन्न पैसा छुट्याएका थियौ, जनतालाई पानीको हाहाकार भए पछि गाडी भन्दा जनताका लागी खाने पानी आवश्यक भएकाले गाडी किन्ने पैसा यता लगानी गरेका हौ ।”
डिप बोरिङबाट पानी निकाल्न २० लाख र ट्याङकी निर्माण गरि स्थानीय जनताको घरघरमा वितरण गर्न २० लाख गरी कुल ४० लाखमा खानेपानी योजनाको काम सक्ने उद्देश्य रहेको उनले बताए । वस्ती आसपास रहेका पानीको मुहानहरु सुक्न थालेपछि पानीको समस्या समाधानका लागी यस्तो प्रविधिबाट पानी निकालिएको गाउँपालीकाका उपाध्यक्ष विनिता ढकालले बताईन । पानीको अभावमा काकाकुल बनेका स्थानीय उक्त प्रविधिबाट पानी निकालिए पछि हर्षित बनेका छन् । बोरिङ गरि खानेपानी निकालिए पछि खुसी हुदै स्थानीय टिका काफ्लेले भनिन् ‘पिउने पानी अभाव हुदा लुगा धुन, बस्तुलाई पानी खुवाउन समस्या थियो, अहिले गाउँपालीकाले डिप बोरिङबाट पानी निकाल्दा धेरै सुविधा भएको छ ।’ त्यस्तै अर्की स्थानीय ६० बर्षीय कृष्णा धिमालले पनि दैनिक पानी बोक्नैका लागी एक जना खटिनु पर्दाको विगत सम्झदै भनिन अब भने गाउँमा प्रसस्त पानी आउने कुरामा ढुक्क भयौँ । गाउँपालीकाले खानेपानीको समस्या समाधान गर्न लिफ्टिङ, बोरिङ प्रविधिका अन्य दुई वटा योजनाहरु समेत सञ्चालन गरिसकेको गाउँपालिकाले जनाएको छ ।