ताप्लेजुङ/ हिमाली जिल्ला ताप्लेजुङका ग्रामीण भेगमा हिजोआज भारतीय तरकारी प्रशस्त पाइन्छ । झापाको काँकडभिट्टा नाका हुँदै भित्रिने करेला, टमाटर, बन्दा, काउली, काँक्रा, खुर्सानीजस्ता तरकारी हिमाली जिल्लामा आयात हुन थालेको हो । गाउँमा यस्ता तरकारी नपाइने भएकाले बजारबाट खरिद गरेर ल्याउने गरेको फक्ताङलुङ गाउँपालिका लेलेपका राम तामाङले बताए ।

‘गाउँका सबैले अलैंचीलगायत नगदे बालीमात्रै लगाउँछन्’, उनले भने, ‘तरकारी लगाउने त किसान नै भेटिँदैनन् । तरकारी तल मधेसबाट आउँछ, हामी त्यही खरिद गर्छौं ।’ बजार आउन दुई दिन हिँड्नुपर्छ ।’ आफूले खरिद गर्ने गरेका सबै तरकारी जिल्लामा उत्पादन भएको नभई व्यापारीले भारतबाट ल्याएको उनले बताए । मानव स्वास्थ्यलाई असर गर्ने विषादी प्रयोग गरिएको विषयमा थाहा भएको तर उपभोग गर्न बाध्य रहेको फुङलिङका सुबास तामाङले बताए । ‘यता पनि भारतबाट तरकारी आउँछ भन्छन्’, उनले भने, ‘हामीले त खरिद गरेर खाने गरेका छौं ।’

ताप्लेजुङमा ५ देखि ७ हेक्टरमा तरकारी खेती हुने गरेको छ । तर यहाँ एक सिजनमा मात्रै तरकारी उत्पादन हुने भएकाले यहाँको उत्पादन पर्याप्त हुँदैन । यहाँ उत्पादन भएको तरकारीले जिल्लाको कुल मागको करिब ३० देखि ४० प्रतिशत मात्र धानेको छ । कृषि ज्ञान केन्द्र पाँचथरअन्र्तगत ताप्लेजुङ सम्पर्क केन्द्रका पूर्व प्रमुख श्रीकृष्ण अधिकारीका अनुसार बाँकी तरकारी बाहिरबाट भित्रिने गरेको छ ।

आयातित तरकारी परीक्षण गरी शुद्धता मापन गर्ने संयन्त्र नहुँदा विषादीको वास्तविक मात्राबारे थाहा पाउन नसकिएको उनको भनाइ छ । जिल्लाका बजार पसलहरूमा स्थानीयभन्दा आयातित तरकारी ४० प्रतिशतसम्म सस्तो बिक्री हुने गरेको व्यवसायी बताउँछन् । ‘बाहिरबाट आएको तरकारी हेर्दा राम्रो र आकर्षक देखिने हुन्छन्’, एक व्यवसायीले भने, ‘त्यसैले ग्राहकको रोजाइ त्यसमै पर्छ ।’ यसमा कृषक र उपभोक्ता दुवै सचेत हुनुपर्ने कृषि प्राविधिक बताउँछन् ।

विषादीले मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमले असर पर्ने ज्ञान केन्द्र सम्पर्क केन्द्रका पूर्व प्रमुख अधिकारीले बताए । ‘टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने तत्कालीन र क्यान्सर, पक्षघात, छालाको क्यान्सर, मिर्गौला फेल हुने, बालबच्चाको टाउकोमा ट्युमर हुने, मधुमेह, रक्तअल्पता, विषादीको दीर्घकालीन असर हुन्’, उनले भने । विषेशगरी यस्ता विषादी युक्त तरकारी गर्भवती महिलाले प्रयोग गरे बच्चा अपाङ्ग जन्मने, बोली नआउनेलगायतका दीर्घकालीन रोगले सताउने अधिकारीले बताए ।