पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको हरियाली सामुदायिक वन गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको छ । देशभरको २२ हजार सामुदायिक वन मध्ये उत्कृष्ट छानिन्दै पुरस्कुत भएको हो ।
वन व्यवस्थापन, गरिवी न्युनिकरण र सामाजिक विकासमा उत्कृष्ट काम गरेको भन्दै हरियाली सामुदायिक वनलाई वन तथा वातारण मन्त्रालय, वन तथा भू—संरक्षण विभागले असार ३१ गते ववरमहल स्थित काठमाडौमा पुरस्कृत गरेको थियो । एक लाख पुरस्कारको राशी र प्रमाण पत्र ग्रहण गरी हरियाली सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगर फर्की सकेका छन् ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले हरियाली देशैभर उत्कृष्ट भएकोले वन मन्त्रालयले सम्मान गरिएको बताए । मन्त्रालयले बर्षेनी गर्ने यो पुरस्कार १ नम्बर प्रदेश (पूर्वाञ्चल)मै पहिलो पटक हरियालीले प्राप्त गरेको डीएफओ घिमिरेको भनाइ छ ।
सामुदायिक वनमा भएको वन संरक्षण, व्यवस्थापन, पारदर्शीता, शुसासन, लेखा परीक्षण, वन पैदावरको सदुपयोगलगायतको विषयमा परीक्षण गरेर उक्त पुरस्कार वितरण हुनेगरेको डीएफओ घिमिरेले बताएका छन् । हरियाली वन पथरीशनिश्चरे नगरपालिकामा रहेको २, ३ र ७ नम्बर वडा स्थित एक हजार २८ घरपरिवार उपभोक्ता रहेका छन् । हरियाली २०५६ मा स्थापना भएर २०६३ मा विधान दर्ता, २०७१ सालमा समुदायमा हस्तान्त्रण र २०७३ मा वैज्ञानिक वन कार्ययोजना संशोधन भएको हो । वनको क्षेत्रफल २४५.९४ हेक्टर क्षेत्र रहेको वनको अध्यक्ष काबुलबहादुर मगरले बताएका छन ।
सामुदायिक वनले आम्दानीको २५ प्रतिशत वन काविस, ३५ गरिवी निवारण र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्नुपर्ने सरकारी मापदण्ड रहेको छ । सम्पूर्ण मापदण्ड पुरा गर्दै हरियाली वनले आर्थिक बर्ष २०७५/०७६ को राष्ट्रिय पुरस्कार प्राप्त गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको हो । मोरङ जिल्लामा १३५ वडा सामुदायिक वन रहेको छ । हरियालीले गत बर्ष पनि गणेशमान सिंह सामुदायिक वनको दोस्रो पुरस्कार प्राप्त गरेको थियो । हरियालीले २०७५ मा मोरङ जिल्लामा प्रथम, २०७३ मा वैज्ञानिक वन व्यवस्थापनमा दोस्रो पुरस्कार प्राप्त गरिसका छन् ।