इटहरी/ चालु आर्थिक वर्षदेखि लागु हुने गरी ल्याएको कर अव्यावहारिक भएको भन्दै इटहरीका व्यापारीहरूले विरोध जनाएका छन् । सरकारले बढाएको करले व्यापारीहरूको ढाड सेक्ने काम गरेको भन्दै कर नीति फिर्ता गर्न व्यापारीहरूले माग गरेका हुन् ।

सरकारले मनपरी तरिकाले अव्यावहारिक रूपमा बढाएको करको विरोध गर्दै इटहरीमा व्यापारीहरूले र्याली निकालेका हुन् । नेपाल सरकारले आर्थिक वर्ष २०७६/०७७ मा लागू हुने गरी अव्यावहारिक नयाँ कर नीति कार्यान्वयनको विरोधमा वितरक सङ्घ इटहरीले विरोध र्याली निकालेको हो ।

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले सरकारले ल्याएको अव्यावहारिक करले व्यापारीहरू मारमा पर्ने भन्दै तत्काल फिर्ता लिन आग्रह गरे । व्यवसायीहरू नै पलायन हुने गरी आएको कर मान्य नहुने अध्यक्ष पौडेलको भनाइ थियो । पौडेलले सरकारले ल्याएको नीति फिर्ता लैजानुको विकल्प नभएको बताए ।