नेपालको पूर्वीभेगमा मच्छडको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरसको सङ्क्रमणबाट फैलने रोग डेङ्गु फैलिएको छ । यस रोगको बढ्दो बिरामीको सङ्ख्याका कारण प्रदेश एकको सुनसरी जिल्लाको धरानमा डेङ्गु इन्डेमिक भएको छ । दुई सयभन्दा बढी सङ्ख्यामा यसको सङ्क्रमण रहेको पुष्टि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञ टोलीले गरेको छ । सोही टोलीले धरानका वडा नं. ८ र १५ लाई डेङ्गु आपतकालीन अवस्थासहितको डेङ्गु सङ्क्रमित वडा घोषित गरेको छ भने १३ र ९ वडामा समेत यसको प्रकोप रहेको जनाएको छ । गतवर्ष पूर्वी क्षेत्रको दमकका विभिन्न स्थानमा करिब दुई दर्जन बिरामी सो रोगले ग्रसित भएको परीक्षणबाट पुष्टि भएको थियो ।

उनीहरूमा एनएसवानएजी (NS1Ag) रियाक्टिभ देखिएकोले बिरामी सम्बन्धित रोगको शुरुवाती अवस्थामा रहेको बुझिन्छ । कति बिरामीमा आईजीएम (IgM) पनि पोजिटिभ देखिएको छ । रोग ठीक हुनलागेको बिरामीमा वा रोग शुरु भएको ४–५ दिनमा आईजीजी (IgG) पनि रिएक्टिभ देखिन्छ । बिरामीहरूमा सामान्य ज्वरो आउने, जिउ र हात दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने र आलश्यता हुने जस्ता लक्षण भएको खण्डमा चिकित्सकहरूले अन्य रोगको पहिचानका लागि गर्ने परीक्षणका अलावा डेङ्गु रोगको पनि परीक्षण गर्ने अवस्थाको सिर्जना भएको छ ।

यसअगावै पनि डेङ्गु रोगबाट नेपालको पूर्वीभेगको काँकडभिट्टामा दुई बिरामीको मृत्यु भएको पुष्टि भएसँगै बिरामीहरू रोग पहिचान भएको थाहा पाएर आत्तिने गरेको पाइएको छ, तर त्यसो गरिनु हुन्न, यस रोगको नियन्त्रण र उपचार दुवै सम्भव छ । सरकारले यस प्रकारका रोगहरूको बारेमा जनचेतना दिनेदेखि उचित व्यवस्थापन गर्दै रोग नियन्त्रणमा समयमै चासो दिनुपर्ने र बिरामीहरूको उपचारमा सरकारी सहयोगको व्यवस्था गर्दै रोग नियन्त्रणमा समेत रफ्तारमा कार्य गर्नुपर्ने हो तर स्थानीय सरकार र केन्द्र सरकारबीच समन्वय हुन नसक्दा प्रभावकारीरूपमा यस रोगको नियन्त्रण हुन सकेको छैन ।

रोगको पहिचान दुई सय बिरामीमा गरिए पनि धेरै बिरामीहरूको पहिचान हुन सकेको छैन । किनकी सामान्य ज्वरो आएका बिरामीहरू दबाई दोकानको सामान्य औषधि सेवन गर्ने परम्परा हाम्रो समाजमा स्थापित छ । डाक्टरको सल्लाह लिन रोगले थलिएपछि मात्र आउने वैचारिक तथा आर्थिकरूपको गरिबी पनि हाम्रो समाजमा यथावत् छ । सरकारले चासो नदिने हो भने डेङ्गु रोगले यस क्षेत्रमा विकारल रूप लिन सक्छ र धेरैको ज्यान खतरामा हुनेछ ।

डेङ्गुको बारेमाः
विश्वमा मच्छडको टोकाइबाट अति नै शीघ्र फैलने भाइरसको सङ्क्रमबाट हुने रोगमध्येको रोग हो डेङ्गु । विश्वभर नै यस रोगको फैलावट भए पनि एशियाको खासगरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इण्डेमिक भएर एक समस्याको जड भएको छ । यो रोगबाट ग्रसित भएका क्षेत्रका मानिसहरूको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेका विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले जनाएको छ । नेपालीहरूको जस्तो आर्थिकस्तर कम भएको समाजमा यो रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकोले सरकारले समयमा नै समाधान खोज्नु जरुरी छ ।

मानिसको शरीरमा विभिन्न चार प्रकारको रूप धारण गर्न सक्ने डीईएन १–४ (DEN 1-4) एक प्रकारको डेङ्गु (DEN) भाइरसको सङ्क्रमणबाट यो रोग मानिसमा स्थापित हुन्छ । यो रोग मुख्यतः स्त्री जातिका एडिज मच्छडको टोकाइबाट मानिसमा सर्ने गर्दछ । पानी जम्ने ठाउँ, एयर कण्डिसन, फूलका गमला, पुराना टायर, ड्रम, नरिवलका खोस्टा, साना खाल्डाहरूमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भएमा यो रोग फैलने सम्भावना बढी रहन्छ ।

उक्त प्रजातिका मच्छड मुख्यतः सफा पानीमा फैलने भएकोेले फोहोर नालीहरू भएका ठाउँहरूभन्दा घर र घरआसपासका पानी जम्ने पुराना भाँडाकुँडामा बस्ने मच्छडहरूबाट यो रोग फैलने सम्भावना भएकोले मानिसलाई नै यो रोग फैलनुको बढी जिम्मेवार मानिएको छ । तसर्थ आफ्नो घर सफाइ गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथामको उपाय हो । साथै मच्छडको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा मच्छड धुप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ ।

शुरुमा बिरामीहरूमा सामान्य ज्वरो आउने, जिउ एवम् हात दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने, रिङटा लाग्ने, वान्ता आउने र आलश्यता हुने जस्ता लक्षणहरू देखिन्छ । रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुहरूमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकोले बेलैमा उपचार गराउनु र चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ ।

सामान्य ज्वरो वा भाइरल ज्वरो भए पनि सामान्यरूपमा नलिन र समयमै अस्पताल जानु उचित हुनेछ । यो रोग लागिहाल्यो भनेर अत्तिने र त्रासमा बस्ने पनि गर्नु हुँदैन । किनकी अधिकांश रोगीहरू सामान्य उपचारपछि घर फर्कन सक्नेछन् । ५ प्रतिशत बिरामीमा मात्र यो रोग विकराल रूपमा आउने गर्दछ, जसको सघन उपचार आवश्यक हुन्छ ।

अस्पतालमा गरिने परीक्षणका साथ–साथै बिरामीको लक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ । रगतमा श्वेत कोषिका कम भएको, प्लेटलेटको सङ्ख्या कम भएको वा रगतमा उक्त भाइरसको एन्टिजेन एनएसवानएजी (NS1Ag) पोजिटिभ आएमा सो भाइरसको बोझ शरीरमा रहेको बुझिन्छ । उक्त भाइरस विरुद्ध मानिसको शरीरले बनाउने एन्टिबडीहरूमध्ये आईजीएम र आइजीजी पनि पोजिटिभ हुनसक्छ । शरीरमा हिमाटोक्रिटको मात्रा उच्च हुने ल्याव परीक्षण यस रोगको पहिचानमा सफल मानिन्छ ।

यस रोगको उपचार शुरुमा चिकित्सकको निगरानीमा लक्षणअनुसार गरिने हुन्छ, शरीरमा पानीको मात्रा कम भए सोहीअनुसार पानीको मात्रा कम हुन नदिन सलाइन चढाउनु पर्ने हुन्छ तर शरीरमा प्लेटलेटको मात्रा कम भएमा कम्पोनेन्ट ब्लड (सेतो रगत) चढाउनु पर्ने हुन्छ । बिरामी सिकिस्त भएमा सघन उपचार कक्षमा चौबीसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनु पर्ने भएकोले सम्बन्धित स्वास्थ्यकर्मीले पनि यस रोगको उपचारको कुनै खास आधिकारिक उपचार पद्धतिअनुसार मात्र उपचार गर्नुपर्ने हुन्छ ।

सरकारको जिम्मेवारीः
कुनै खास क्षेत्रमा फैलिएको यस प्रकारका रोगहरूको नियन्त्रणदेखि बिरामीको उपचारमा सरकार नै सक्रिय हुनुपर्ने देखिन्छ । सरकारले यस प्रकारका रोगको रोकथामका लागि स्वास्थ्यकर्मीहरूको टोली खटाउनेदेखि सक्रिय भएर रोगको पहिचान तथा नियन्त्रण तथा रोगको कारणको उन्मूलनमा जोड दिनु आजको आवश्यकता हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले टोली खटाएर केही हदसम्म आफ्नो जिम्मेवारी निर्वाह गरेको छ तर मात्र यही कदम यो रोगको नियन्त्रणको लागि पर्याप्त भने होइन । अझ यो रोग फैलनुपूर्व नै सरकारी निकायहरूले चासो दिएर रोग नियन्त्रणको आवश्यक प्रयास गर्नुपर्ने थियो तर सरकार चुकेको देखिन्छ ।

अन्तमा, सम्बन्धित स्थानीय निकाय तथा केन्द्र सरकारले पनि यस विषयमा चासो लिई अविलम्ब डेङ्गु त्रासको अन्त्य गरी बिरामीहरूको उपचार तथा रोग नियन्त्रणमा विशेष सहयोग गर्नुर्ने देखिन्छ । यस रोगबाट हुने मृत्यु रोक्न सरकारको सक्रिय भूमिका आवश्यक छ र सरकार यसतर्फ जिम्मेवार पनि बन्नुपर्छ । अहिले नेपालको राजनीति अन्य विषयमा भन्दा पनि नेपालको पूर्वतिर पनि मोडिनु जरुरी छ, जहाँ डेङ्गुको त्रास छ ।

(लेखकः अस्पताल व्यवस्थापन विषयका जानकार हुन् र हाल उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययनरत छन् ।)