धरान । धरानमा डेङ्गु रोगको महामारी फैलिसक्दा पनि स्थानीय जनसमुदाय, राजनीतिक दल र तिनका भ्रातृसङ्गठन, विभिन्न सङ्घ–संस्था अझै जागरुक हुन सकेका छैनन् ।
र्यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले डेङ्गु नियन्त्रण गर्न घरघरमा जागरुक हुनु पर्नेमा एकले अर्कालाई ‘अह्राउने र कराउने’को सङ्ख्या बढी भएको बताए । उनले भने, ‘हामी र्यापिड रेस्पोन्स टिमका समिति सदस्यहरूले निरन्तर प्राविधिकस्तरमा काम गरिरहेका छौं ।
एकदिनमा विभिन्न वडा, विद्यालय र डेङ्गु प्रभावित क्षेत्रमा जनचेतना प्रवाह गर्दै घरघरमा पनि सर्च एण्ड डेस्ट्रोए अभियान चलाइरहेका छांै ।’ उनले स्थानीय समुदाय, राजनीतिक दल, तिनका भ्रातृसंस्था, स्थानीय जाति–जनजातिका सङ्घ–संस्थाका सदस्य सक्रिय हुन ढिला भएको गुनासो गरे ।
उनले डेङ्गु नियन्त्रणका लागि जनसमुदायले कुनै खर्च नगरी मच्छरको अण्डा, लार्भा र प्युपा नस्ट गर्न सक्ने भएकाले आफ्नो घरैबाट अभियान शुरु गर्न आग्रह गरे । उनले भने, ‘प्राविधिक टोली धरानका ३२ हजार घरघरमा पुग्न सक्दैन । घरमा भेटिएका सिसा र प्लाष्टिकका बोतलमा पानी जमेर रहेको भए फाल्ने, गमलाका जम्न नदिने, बिर्को नलगाएका ड्रम र ट्याङ्कीका पानी फाल्ने काम मात्रै गरे काफी हुन्छ ।’ यसैबीच शुक्रबारदेखि नै डेङ्गु रोगीका लागि प्रतिष्ठानले निःशुल्क उपचार गर्न थालेको जनाएको छ । धरानमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २ सय १८ जना पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा विकास साहले भने, ‘धरानमा डेङ्गुको रोगीहरू २ सय १८ जना पुगेका छन्, ती मध्ये कतिपय डिस्चार्ज गरिएका र २१ जना नया बिरामी भर्ना भएका छन् ।’ प्रतिष्ठानलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेङ्गु रोगीका लागि भनेर दुईवटा भेन्टिलेटर पनि पठाइदिने भएको छ ।
धरानको विजयपुर क्षेत्रमा डेङ्गु रोग सार्ने अर्को जातिको ‘एडिसएल्बोपिकस’ लामखुट्टे फेला परेको छ । धरानमा डेङ्गु नियन्त्रणका लागि गठित चिकित्सकसहितको र्यापिड रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनाल, धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव र मकवानपुरको हेटौंडाबाट आएका किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट (किटजन्य रोग अनुसन्धान विज्ञ) दीपक साहसहितको टोलीले डेङ्गु सार्ने ‘एडिसएल्बोपिकस’ लामखुट्टे फेला पारेको हो । धरान–१४ विजयुरस्थित वडासमिति कार्यालय नजिकै रहेको होटलमा सर्च एण्ड डेस्ट्रोय अभियान चलाइरहेको बेला पिकस लामखुट्टे होटलले जम्मा गरेर राखेको पानीको खुला ट्याङ्कीमा अण्डा, लार्भा र प्युपा पनि फेला परेको किटजन्य रोग विशेषज्ञ दीपक साहले बताए । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले मात्र धरानमा डेङ्गु रोग सारेको बताइँदै आए पनि पिकसले पनि डेङ्गु सार्ने गरेको उनले बताए ।
उक्त लामखुट्टे दुई महिनाअघि पोखरामा फेला परेको थियो । उनले भने, ‘पोखरामा डेढमहिना अघि धरानमा जस्तै डेङ्गुको भयावह महामारी फैलिएको थियो । पाँचसय जना सङ्क्रमित भएका थिए । तर स्थानीय जनसमुदाय सक्रिय भएर नियन्त्रण गर्न सफल भए ।’ उनका अनुसार पोखरामा डेङ्गुका सङ्क्रमित मध्ये एडिसएल्बोपिकसबाट ५० प्रतिशत र एडिसएजिप्टाइबाट ५० प्रतिशत सङ्क्रमित भएको पाइएको थियो । उपमहानरपालिकाले धरान–१५ र धरान–८ लाई स्वास्थ्य सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि बगरकोटस्थित होलील्याण्ड इन्टरनेश्नल स्कुलमा विभिन्न विद्यालयका शिक्षक र अभिभावक भेला गरेर चिकित्सकहरूले प्रोजेक्टरमार्फत् डेङ्गुको अण्डा, लार्भा र प्युपाबारे बुझाउँदै नस्ट गर्ने तरिकाबारे सिकाएका थिए ।
नेपाली काङ्ग्रेस धरान नगर समितिले डेङ्गु अभियानलाई तीव्र बनाउन उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई ज्ञापन–पत्र बुझाएको छ । काङ्ग्रेसका नेता तिलक राईबाट ज्ञापन–पत्र लिएपछि कार्यवाहक प्रमुख भण्डारीले बढी प्रभावित ८ र १५ वडालाई स्वास्थ्य सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि अभियानमा तीव्रता आएको बताइन् । उनले भनिन्, ‘दलका नेता कार्यकर्ता पनि सर्च एण्ड डेस्ट्रोय अभियानमा सक्रिय हुनसके भनेजस्तै महामारी नियन्त्रण गर्न सकिन्छ । ज्ञापन–पत्र दिन आएजस्तै घरदैलोमा पुगेर साथ दिन आग्रह गर्दछु ।’