हरेक वर्षजसो वर्षा सकिने बित्तिकै या वर्षा शुरु हुँदै डेङ्गुजस्तो ज्यानै लिनसक्ने बिरामी फैलाउने लामखुट्टे हरेक शहर र गाउँमा फैलिने गरेको छ । यो खतरनाक सङ्क्रामक रोगबाट बच्ने एउटै मात्र उपाय सरसफाइ हो भनेर धेरैलाई जानकारी भए पनि हामीले गाउँ–नगर सफा राख्न सकिरहेका छैनौँ ।

हामीले हरेकले आफ्नो घर–आँगन र वरपर सफा राख्ने, नबुझेकालाई बुझाउने र सचेतनासम्बन्धी कार्यक्रमहरू गर्ने हो भने यसबाट बच्न सकिन्छ । पुराना टायर, पानी जम्ने ठाउँ, खाल्डाखुल्डी पुर्ने र सफा पानी जम्ने स्थान अनि घरमा नै रहेका फ्रिज या अन्य सामग्रीमा लामो समयसम्म पानी नजम्ने वातावरणको व्यवस्था मिलाउने हो भने पनि यसबाट बच्न सकिन्छ । चर्पी व्यवस्थित बनाउने हो भने पनि हामी धेरै सङ्क्रामक रोगबाट बच्न सक्छौं । बेला–बेलामा गाउँ या नगरपालिकाले लामखुट्टे र अन्य परजीवी मार्ने विषादी छर्किएमा धेरैखाले यस्ता सङ्क्रामक या महामारी फैलाउने रोगबाट बच्न सकिन्छ ।

डेङ्गु एउटा कडा खाले भाइरसबाट लाग्ने रोग हो, जो एडिस एजिप्टाई नामको पोथी लामखुट्टेबाट यो भाइरस सङ्क्रमण हुन्छ । स्वस्थ मानिसलाई उक्त लामखुट्टेले टोकेमा यो रोग सर्ने सम्भावना धेरै हुन्छ । यसमा पनि यदि सम्बन्धित मानिसमा त्यो भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा रोगका लक्षणहरू देखा पर्छन् भने यदि रोग प्रतिरोधात्मक क्षमता बलियो छ भने पनि भाइरस शरीरमा रहिरहन्छ । त्यो मानिसलाई माथि भनिएको लामखुट्टेले टोकेर अर्को मानिसलाई टोकेमा भाइरस सर्ने र रोगका लक्षण सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा बुद्धिमानी हो । लामखुट्टे नै फैलिन नदिनु र भएकालाई पनि नष्ट गर्ने उपाय अवलम्बन गर्नु सबैभन्दा राम्रो कार्य हो ।

नेपालमा मात्र नभएर छिमेकी देशमा पनि डेङ्गु रोगले धेरैको ज्यान लिइसकेको हुँदा यो रोगका लक्षण र बचाउका उपायहरूको जानकारी हुनु आवश्यक छ । यो एक खतरनाक सङ्क्रामक रोग हो । यसले शरीरका मांसपेशीमा मात्र नभएर हड्डीसम्म असह्य हुने गरी दुख्ने हुँदा यस रोगलाई हड्डीतोड ज्वरो पनि भनिन्छ । यो मुख्य गरेर दुई प्रकारको हुन्छ ।

हेमोरेजिक अर्थात् मुख र शरीरका अन्य भागबाट नसा फुटेर रगत बग्ने र ज्वरो आउने अनि जिउ, टाउकोका साथै शरीरका हड्डीसम्म दुख्ने हुन्छ । यसका लक्षणहरू यति कडा हुन्छन् कि औषधिले नियन्त्रण गर्न निक्कै कठिन हुन्छ । समयमा नै उपचार नपाएमा बिरामीको मृत्युसमेत हुनसक्छ । त्यसैले यो रोगका बारेमा बेलैमा बच्नका लागि रोगबारे जानकारी, रोकथाम र उपचारका विषयमा जानीराख्नु राम्रो हुन्छ ।