धरान । डेङ्गु सङ्क्रमितको सङ्ख्या ६० पुगेपछि मात्र धरान उपमहानगरपालिकाले शुक्रबार साँझ चार थान फगिङ मेसिन खरिद गरेको छ ।
बेलैमा सावधानीको उपाय र प्रभावकारी कार्ययोजना ल्याउन नसक्दा धरानमा डेङ्गुको प्रकोप फैलिएको गुनासो सरोकारवालाहरूले गरेपछि चार थान फगिङ मेसिन खरिद गरेको हो । गत कात्तिकमै धरानमा ८ जनालाई डेङ्गु रोग लागेको थियो । त्यसबेला उपमहानगरपालिका र स्वास्थ्य विभागले चासो नदिँदा अहिले जताततै डेङ्गुको प्रकोप बढेको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बिहीबार मात्र फगिङ मेसिन खरिद गर्ने निर्णय गरेकाले शुक्रबार बेलुकासम्ममा चार थान फगिङ मेसिन किनेर ल्याएको बताए । उनले भने, ‘फगिङ मेसिनमा अल्फा साइफर मेथ्रिन र डिजल मिसाएर डेङ्गु सङ्क्रमित क्षेत्रमा छर्किनेछौं ।’ ती मेसिनको मूल्य १ लाख १० हजार रुपैयाँदेखि १ लाख १२ हजार रुपैयाँ रहेको छ । यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मागेर उपमहानगरपालिकाले फगिङ मेसिन प्रयोग गर्दै आएको थियो ।

दुई दिनअघि गठित चिकित्सकहरूसहितको ¥यापिड रेस्पोन्स टिमले धरानमा डेङ्गु नियन्त्रणका लागि २० वटै वडाका लागि बेग्ला–बेग्लै फगिङ मेसिन खरिद गर्न सुझाव दिएको थियो । यसैबीच प्रतिष्ठानको माइक्रो बायोलोजी विभागले मे १२ देखि मे ३१ (शुक्रबार) सम्म ज्वरो आएर उपचार गर्न आएका १ सय १४ जनामध्ये ६० जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि गरेको छ ।

शुक्रबार प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्दै विभागका प्रमुख प्रा.डा. बशुधा खनालले भनिन्, ‘१ सय १४ को रगत ल्याव टेष्ट गर्दा ६० जनामा डेङ्गु सङ्क्रमण भएको पाइएयो । यो तथ्याङ्क १९ दिनभित्र विभिन्न कारणले ज्वरो आएर बिरामी भएकामध्ये ल्याव टेष्ट गर्दा पाइएको सङ्ख्या हो ।’ सङ्क्रमितहरूको उमेर ६ वर्षदेखि ६१ वर्षसम्मका छन् ।चिकित्सकहरूले मनसुनअगाडि नै धरानमा डेङ्गुको प्रकोप फैलिएकोले सावधानी अपनाउन सुझाएका छन् । डेङ्गु सङ्क्रमित लामखुट्टेले फुल पारिराखेको बेला त्यसमा पानी परेर गर्मी बढेपछि लार्भा बनेर वयष्क लामखुट्टे हुने र मान्छेलाई टोकेर सङ्क्रमण फैलिएको हुनसक्ने डा. खनालले बताइन् ।

प्रतिष्ठानमा डेङ्गुको जेनेटिक टेष्टिङ गर्ने दक्ष विशेषज्ञ माइक्रोबायोलोजी विभागका डा. नारायण भट्टराईले भविष्यमा महामारी नफैलियोस् भनेर जेनेटिक टेष्टिङ गर्नुपर्ने बताए । जेनेटिक टेष्टिङका लागि केही रसायन अभाव भएकाले डेङ्गु टाइप छुट्याउन बाँकी नै रहेको उनले बताए । उनले भने, ‘डेङ्गुको जेनेटिक टेष्टिङका लागि आवश्यक रसायन माग गरेका छौं । त्यसको व्यवस्था भएपछि मोलिकुलर जेनेटिक टेष्टिङ गर्नेछौं ।’ डा. भट्टराईको टिमले गतवर्ष झापाको काँकडभिट्टा, दमकमा फैलिएको डेङ्गुको जेनेटिक टेष्टिङ गरेका थिए । त्यसबेला डेङ्गुका चारवटा टाइपमध्ये टाइप एक, टाइप दुई र टाइप तीनसम्मका भाइरसमात्र देखिएको थियो ।

प्रतिष्ठानको आकस्मिक कक्षका चिकित्सक डा. देवराज अधिकारीले धरानमा डेङ्गु प्रकोप फैलिएपछि स्थानीय बासिन्दाहरू आतङ्कित भएको बताए । उनका अनुसार अरु नै कारणले सामान्य ज्वरो आए पनि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा रगत परीक्षण गर्न आउनेहरूको सङ्ख्या बढेको छ । ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान तीव्र बनाएको बताए । वडा–वडामा गएर अण्डा र लार्भालाई कसरी नष्ट गर्ने, कहाँ–कहाँ हुनसक्छ भनेर जनचेतना फैलाउने, स्वयम्सेविकाहरू र स्थानीय बासिन्दालाई सरसफाइको तरिका, लामखुट्टे नबस्ने वातावरण तयार गर्ने तरिकाहरू सिकाउँदै गरेको बताए ।