विराटनगर/ मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मङ्गलबारे अस्पताललाई १ नम्बर प्रदेश सरकारले ट्रमा सेण्टरको रूपमा विकास गरेर अगाडि बढाउने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेषज्ञ प्राविधिकसहितको कन्सल्टेण्ट परिचालन गरी डिपिआर तयार पारेर अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गर्न काम अगाडि बढाएको हो ।

प्रदेश सरकारको योजनाअनुसार मङ्गलबारे अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गरेर अगाडि बढाउन गतवर्षदेखि कामको शुरूवात भएको प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ‘गतवर्षदेखि मङ्गलबारे अस्पताललाई ट्रमा सेण्टरका रूपमा विकास गर्न अहिले काम भइरहेको छ’ उनले भने, ‘भवन निर्माणको काम करिब–करिब पूरा भएको छ । संरचनाहरू बन्ने क्रममा छन् ।’ ट्रमा सेण्टरको लागि संरचनाहरू निर्माण कार्य पूरा गरी आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना रहेको छ । ‘१ सय वार्डको ट्रमा सेण्टर सञ्चालन गर्ने प्रदेश सरकारको योजना हो’ मन्त्री घिमिरेले भने, ‘सञ्चालनमा आउने ट्रमा सेण्टरमा पूर्व–पश्चिम राजमार्गका दुर्घटनमा परी घाइते हुनेहरूको तत्काल उपचार हुनेछ ।’ ट्रमा सेण्टरमा हुने चिकित्सकीय सेवाहरू प्रभावकारी हुने बताइएको छ ।

मन्त्री घिमिरेले प्रदेश सरकारको मातहतमा १५ वटा जिल्ला अस्पतालहरू रहेको जानकारी दिँदै उनले तहगत रूपमा बिरामीको उपचार हुने बताए । जीवनशैली सुधार गरी सरकारी अस्पतालको स्तरोन्नति गर्न पनि प्रदेश सरकार अहिले लागिपरेको उनको भनाइ थियो । नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्रको संयोजनमा मोरङ र सुनसरीमा रहेर स्वास्थ्य क्षेत्रमा लेख्दै आएका पत्रकारहरूलाई दिइएको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले प्रदेशको पहाडी जिल्लाहरूमा शिक्षा र स्वास्थ्यमा विशेष योजनाहरू सरकारले ल्याएको बताए ।

‘धनकुटामा शिक्षण अस्पताल र इलाममा उच्च स्तरको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ’ –मन्त्री घिमिरेले भने । झापा, मोरङ र सुनसरीमा रहेको चारवटा आयुर्वेद हस्पिटलको सेवालाई प्रभावकारी बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्न सरकारले निर्देशन दिएको छ । प्रदेश सरकारले आयुर्वेदको रिसर्च सेण्टर तीन ठाउँमा खोेल्ने योजना बनाएको छ । तराई, पहाड र हिमालको प्रत्येक ठाउँमा गरी तीन ठाउँमा रिर्सच सेण्टर खोल्ने तयारी सरकारले गरेको मन्त्री घिमिरेले जानकारी दिए ।