पृष्ठभूमिः
स्वास्थ्य सङ्गठनका अनुसार यो रोग पशुबाट मानिसमा विश्वव्यापी रूपमा सर्ने रोग मानिन्छ । यस रोगलाई पुनर्उत्पादित सङ्क्रामक रोग मानिन्छ । जसको पुष्टि यो रोगको सङ्क्रमण निकारागुआमा इ.स. १९९७ मा, ब्राजिलमा १९९६ मा, भारतमा १९९९ मा, मध्यपूर्व एसियामा १९९७ मा, मलेसियामा इ.स. १९९८ अनि संयुक्त राष्ट्र अमेरिकामा इ.स. १९८८, १९९४ र इ.स. २००० मा देखिएकोले गर्छ ।
यसबाहेक यो रोग दुस्साहसिक जल पर्यटन खेलमा संलग्न व्यक्तिमा देखिने गरेको पाइन्छ । अझ बाढीग्रस्त डुबान प्रभावित क्षेत्रमा यो रोग बेलाबेलामा देखिने गरेको तथ्य भेटिन्छ । हाम्रो आफ्नो परिवेशमा भने यो रोग लागी जनसमुदाय प्रभावित भएको अभिलेख त भेटिंदैन हालसम्म । तर, यस रोगका आश्रयस्थल मानिने पशुहरूमा भने यी रोग भएको सङ्केत प्रयोगशालाकृत अनुगमनमा सङ्केत गरेको ठहर यस क्षेत्रमा कार्यरत जनस्वास्थ्यकर्मीले गरेको अभिलेख भने छ ।
 
रोगको प्रकोपको अवस्थिति र अभिलेखः
यो रोग अवस्थिति विश्वव्यापीरूपमा रहेको मानिन्छ । त्यसमा पनि विश्व भौगोलिक मानचित्रमा यो रोग समशितोष्ण जलवायु भएको ठाउँभन्दा उष्ण जलवायु भएको क्षेत्र बढी प्रभावित हुने गरेको तथ्य भेटिन्छ । यो हुनका कारण यी जीवाणु तातो तथा गुम्साइलो वातावरणमा बढी समय बाँच्न सक्ने हुनाले मानिन्छ । यो रोग देखिने मौसमी समय समशितोष्ण हावापानी भएका क्षेत्रमा गर्मी तथा वर्षाको बेला तथा उष्ण हावापानी भएका भूगोलमा मुख्यरूपमा वर्षा बाढी आउने समयमा देखिने गर्दछ । यो रोग जनसमुदायमा सङ्क्रमित आश्रय स्थल मानिएको पशुहरूका पिसाब, रगत तथा तन्तुहरूसँगको प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । यसबाहेक सङ्क्रमित पशुहरूले प्रयोग गर्ने पोखरी खोला, नाला, नहर जुन तीनका पिसाबले प्रदूषित हुन्छन् । तीनमा नुहाउने पौडी खेल्ने कार्यमा संलग्न जनसमुदायमा यस रोगको जोखिममा पर्न सक्ने सम्भावना त्यति नै हुन्छ ।
 
यो रोगका जीवाणु मानव शरीरमा प्रवेश गरेपछि एकदेखि ३ हप्तासम्म ओथारो बस्नु पर्ने हुन्छ । त्यस अवधिमा रोग विकसित हुने प्रक्रिया विकसित हुने गर्दछ । पछि शरीरको ज्वरो बढ्ने, जाडो लागेको जस्तो हुने, टाउको दुख्ने जीउको मांशपेशी दुख्ने जोर्नी दुख्नेजस्ता लक्षण सङ्क्रमित व्यक्ति वा समुदायमा देखा पर्न थाल्दछ ।
 
धेरैजसो जनसमुदाय यस रोगबाट ग्रसित बिरामी भएका हुन्छन् । किनभने यो रोग कि त थाहा हुँदैन वा गलत निदान भएका हुन्छन् । किनभने यस रोगका लक्षण अन्य विविध रोगका लक्षणसँग मिल्दो–जुल्दो हुँदा स्वास्थ्यकर्मीहरू दुविधामा पर्ने गरेका हुनाले कहिलेकाहीँ ५ देखि १५ प्रतिशत बिरामी भने मुटु, कलेजो फोक्सो अनि मृगौलाजस्ता बहु अङ्गीय सङ्क्रमण भएमा सो बिरामीले मृत्युवरणसम्म गर्नु पर्ने हुन्छ । आजका जनस्वास्थ्यकर्मीको टाउको दुखेको यतिले मात्र हो नत्र नेपालमा सञ्चालन हुन लागेको जुनोटिक नियन्त्रण आयोजनाको कार्यक्रममा यो रोग प्राथमिकतामा किन पर्दथ्यो ।
फिरन्ते अनि घरपालुवा स्तनधारी पशु गाई , सुँगुर, बङ्गुर र कुकुरबाहेक घस्रिने जीव तथा जलचरहरू यी रोग लगाउने जीवाणुका हालसम्म अभिलेखीकरण गरिएका २५० जति प्रजातिका स्थायी आश्रयदाता मानिन्छ । यसबाहेक मुसा तथा मुसाजन्य प्रजाति पनि यस रोगको जीवाणुको आश्रय स्थल मानिन्छ अनि जनसमुदायमा सङ्क्रमण गराउने माध्यम पनि । आजसम्म विश्वका चालिसभन्दा बढी
मुलुकमा जनावर तथा मानिसमा यस रोगको प्रकोप देखिँदा यो जीवको संलग्नता देखिएको वैज्ञानिक पुष्टिले प्रमाणित गर्दछ ।
 
अरु आश्रय दिने जनावरमध्ये कुकुर यद्यपि यस रोगविरुद्ध खोप लगाई पालिएका हुन्छन् । तथापि यिनले आफ्नो पिसाबमा यस रोगका जीवाणु विसर्जन गर्ने गर्छन्, जुन जनसमुदायमा हुने सङ्क्रमणको प्रमुख स्रोत मानिन्छ । उष्ण हावापानी भएको भौगोलिक क्षेत्रहरूमा इ.स. १९५२, १९७३, १९८७ मा विश्वका विभिन्न मुलुकका भूभागमा यस रोगको प्रकोप देखिँदा यस तथ्यको पुष्टि भएको अभिलेख भेटिन्छ ।
 
यसबाहेक गाई तथा सुँगुर, बङ्गुर, बँदेल प्रजाति यस रोगबाट सङ्क्रिमित भएता पनि साधारण तथा लक्षणविहीन अवस्थामा हुन्छ तर यिनले आफ्नो गहुँत अनि पिसाबमा यस रोगका जीवाणु विसर्जन गर्ने गर्दछन् । जसले गर्दा हाम्रा पारम्पारिक पानीका मुहान खोलानाला, पोखरी प्रदूषित गर्ने गराउने गर्छन् । जुन यिनले एकपटक यस रोगको जीवाणुबाट आफू सङ्क्रमित भएपछि जीवन प्रयन्त गरी रहन्छन् । चिन्ताको कुरा जनस्वास्थ्यकर्मीका लागि यतिमात्र हो ।
 
यसबाहेक यस रोगका जीवाणुबाट सङ्क्रमित पशुले गर्भबाट नै वा दूध चुसाउँदा आफ्ना सन्ततिमा सङ्क्रमण सार्ने पनि गर्छन् । यस अर्थमा यसलाई वंशाणुगत सर्ने रोग पनि मान्न सकिन्छ । यसलेप्टोस्पाइरा जीवाणुको खास प्रजातिको आश्रयस्थल कुनै खास जनावर हुने गरेको प्राज्ञिक तथ्य भेटिन्छ । यसले रोग फैलिएका जनसमुदायमा के–कस्ता जनावरको बाहुल्यता छ, त्यस अनुसारका यी जीवाणुका प्रजातिले सङ्क्रमण गर्ने गराउने गर्दछन् । तर यसले ती समुदायमा देखिने बिरामीजन्य लक्षण अनि रोगको घातकतामा भने कुनै तात्विक असर भने पार्ने नगरेको प्राज्ञिक तथ्य भेटिँदैन ।
 
लेप्टोस्पारोसीसलाई प्रमुखतः व्यवसायजन्य रोग मानिन्छ । इ.स. १९१६ र १९२७ मा यस सम्बन्धी प्राज्ञिक अनुसन्धानकर्ताले खानीमा काम गर्ने प्राविधिक तथा कामदार यसको उच्च जोखिममा पर्ने प्रथम समूह रहेको तथ्यतर्फ इङ्कित गरेको अभिलेख पाइन्छ । पशुहरुसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा रहने पशुपालक कृषक पशुचिकित्साकर्मी, पशुस्वास्थ्य प्राविधिक, वधस्थल एवम् वधशालामा संलग्न कामदार, मुसाजन्य जीव नियन्त्रणमा संलग्न व्यक्ति, खानीमा काम गर्ने प्राविधिक एवम् कामदार, सैनिक जवान, ढल सफा गर्ने कामदार मजदुर, माछापालक कृषक, केरा उत्पादक कृषक तथा अन्य यस रोगको उच्च जोखिममा पर्ने जनसमुदायमा पर्ने जनस्वास्थ्यकर्मीले वर्गीकरण गरेको प्राज्ञिक तथ्य भेटिन्छ । तथापि आजको विज्ञान, प्रविधिको विकासका कारण तथा यस रोगबाट बच्न गरिने प्रतिरोधात्मक प्रविधिका कारण धेरै हदसम्म जोखिम भने न्यूनीकरण भएको देखिन्छ तर ढुक्क हुने बेला चाहिँ छैन ।
 
यस तथ्यको पुष्टि इ.स. १९३९ मा स्वेडेनका ढल सफाइ मजदुरहरूमा यस रोगको जीवाणुको सङ्क्रमणको अवस्थिति अवलोकन गरिएकामा क्रमशः  मुसाजन्य जीवको नियन्त्रणको कार्यक्रम सञ्चालन गर्ने कामदारहरूलाई सुरक्षात्मक लुगा लगाउन लगाइको कारण तथा ढल निसङ्क्रमण गर्ने गराउने रसायनका कारण यसको सङ्क्रमण इ.स. १९८४ सम्म आइपुग्दा उत्साहवद्र्धक रूपमा न्यूनीकरण भएको प्राज्ञिक अभिलेखले पुष्टि गर्दछ ।
 
यसबाहेक लेप्टोस्पाइरोसिस रोगलाई वातावरणीय असन्तुलनबाट हुने रोग भनी लिनु पर्ने हुन्छ । किनभने इ.स. १९९९ मा भारतको उडिसा राज्यमा, साल्भाडोरमा  फिलिपिन्समा इ.स. १९९८ मा पेरुमा इ.स. १९९८ मा तथा अर्जेन्टिनामा इ.स. २००२ र इ.स. २००४ मा भीषण बाढी पछि डुबानमा परेका समुदायमा यो रोग देखापरेको प्राज्ञिक अभिलेखले पुष्टि गर्दछ । यसबाहेक इ.स.  १९९६ मा पियुयोरीकोमा आएको सामुन्द्रिक तुफानपछि अनि इ.स. १९९९ मा उडिसामा आएको सामुन्द्रिक बाढीपछि त्यसले प्रभावित क्षेत्रमा यो रोग देखा पर्नुले पुष्टि गर्दछ । यसबाहेक नौका विहार, नदी, झर्ना, ताल, पोखरीमा आधारित मनोरञ्जन अनि खेलकुदजस्ता गतिविधिमा संलग्न व्यक्ति अनि समुदाय पनि यस रोगको जोखिममा पर्ने गर्दछन् । यसको दुष्टान्त इ.स. १९९६ मा कोस्टारिकामा सेप्टेम्बर महिनामा ¥याफ्टिङमा सहभागी समुदायमा यो रोग देखिएको अभिलेखले पुष्टि गर्दछ ।
 
यसबाहेक नियमित यस रोगको प्रकोप हुने क्षेत्रमा घुम्न जाने पर्यटकहरूले पनि यो रोग ओसारपसार गर्ने गर्दछन् । यसको नजीरका रूपमा इ.स. २००० मा मलेसियाको बोरनियोमा सञ्चालित पर्यावरण प्रतियोगितामा सहभागी खेलाडी मध्ये झण्डै १५० खेलाडीले आआफ्नो मुलुकमा यो रोग कोसेलीका रूपमा लगेको तथ्य भेटिन्छ । यस रोग तीनलाई लाग्नुको कारण खुल्ला पानीमा पौडी खेल्न पुगेकाले मानिएको छ । यसबाहेक नाङ्गो खुट्टाले ओसिलो ठाउँमा हिँड्डुल गर्दा तथा नाङ्गो हातले बगैंचामा काम गर्दा पनि रोग लाग्न सक्नेछ  ।
 
आजको विश्व परिवेशमा आन्तरिक एवम् वाह्य बसाइँसराइका कारण यो रोग शहरी जनस्वास्थ्यका लागि टाउकोदुखाइको विषय बन्न पुगेको विश्वव्यापी अनुभव छ । खासगरी जब ग्रामीण समुदायमा अव्यवस्थित रूपमा शहर पलायन हुने गर्दछन् । इ.स. १९९९ ताका ब्राजिलमा ग्रामीण क्षेत्रबाट अत्यधिक जनसमुदायहरू शहरी क्षेत्रमा पलायन भई बसाइँ सर्दा शहरमा विकसित हुन पुगेका अव्यवस्थित सुकुम्वासी बस्तीका कारण यथोचित शहरी सरसफाइ तथा ढल व्यवस्थापन हुन नसक्दा मुसाजन्य जीवको बिगबिगीका कारण यो रोगको प्रकोप ती सुकुम्वासी बस्तीमा देखापरेका तथ्यको अभिलेखले पुष्टि गर्दछ । यसैलाई दृष्टिगत गरी संयुक्त राष्ट्र सङ्घले इ.स. २००३ मा नंै अबको २० वर्ष शहरी सुकुम्वासी बस्तीका जनसमुदायमा यस रोगको जोखिममा पर्ने कुरातर्फ इङ्गित गरी सकेको तथ्य भेटिन्छ । अझ हाम्रो आफ्नो परिवेशमा विगत डेढ दशकको विविधखाले द्वन्दले गर्दा ग्रमीण क्षेत्रका सबै खाले जनसमुदायमा उपेक्षाक्रम सुरक्षित जिल्ला सदरमुकाम तथा शहरी क्षेत्रमा विस्थापित भई नदी खोला किनारमा आफ्नो अस्थायी टहरा बनाई प्रायजसोले बङ्गुरपालन गरी आफ्नो अस्थायी टहरा बनाई जीविकोपार्जनको माध्यम बनाएका छन् ।
 
जहाँ न्यूनत्तम शहरी सरसफाइ अनि खानेपानीको सुविधा पनि छैन भन्दा हुन्छ । यस्ता पर्यावरणीय अवस्थामा मुसा प्रजातिको बिगबिगी हुनु सामान्य मानिन्छ । यसैले हाम्रो आफ्नै परिवेशमा यो रोगको जोखिममा पर्न सक्ने देखिन्छ । यसबाहेक हाम्रो आफ्नो भूगोलमा तराईका समतल फाँटहरूमा अत्यधिक चुरे भावर क्षेत्रमा भएको प्राकृतिक वनको अव्यवस्थित विनाशले प्रायःजसो वर्षाको बेला बाढी एवम् ढुवानमा जलमग्न हुने हुँदा ती क्षेत्रका जनसमुदाय कति सुरक्षित होलान् यो रोगबाट ? अझ हाम्रा आफ्ना नदी–नालामा हुने जल पर्यटन अनि खेलकुदमा सहभागी जनसमुदाय कति सुरक्षित होलान् सोच्ने बेला भयो कि ? भेटेरिनरी जनस्वास्थ्यको चासो यी रोगको स्थायी आश्रयस्थल मानिएका हाम्रा गाई प्रजाति सुँगुर, बङ्गुर प्रजाति कुकुरमा यस रोगको अवस्थितिको वर्तमान अवस्था के कस्तो छ ? त्यो पनि कुन क्षेत्र अनि पर्यावरणीय क्षेत्रमा यसको प्राज्ञिक अध्ययन अनि अभिलेखीकरण हुनु आवश्यक छ ।
 
यस रोगको रोकथामका लागि के गर्न सकिन्छ ?
यस रोग देखिने भौगोलिक पर्यावरणीय यसका स्थायी आश्रयदाता तथा जोखिममा पर्न सक्ने समुदाय अनि रोग देखिने सम्भावित मौसमको सुक्ष्म विश्लेषण गर्ने हो भने यो रोगको रोकथाम नियन्त्रण एवम् उपचारको रणनीति तर्जुमा गर्न कुनै गाह्रो नपर्ने विश्वास जनस्वास्थ्यकर्मीहरूको छ । 
 
मानविय प्रयोजनका लागि यो रोगविरुद्ध कुनै खोप उपलब्ध छैन हालसम्म । घरपालुवा गाई प्रजाति, बङ्गुर प्रजाति तथा कुकुरलाई लगाउने खोप उपलब्ध छ । तर वन्यजन्तु अनि भुस्याहा अनि सामुदायिक कुकुरलाई पो के गर्ने ? तीनमा  उपचारका लागि जैविक प्रयोग गर्न सकिन्छ तर यसको प्रभाव १८ घण्टा भन्दा बढी छैैन ।
 
कतै–कतै यो रोगको प्रकोप प्रदूषित पानीका कारण हुने गरेको पानीको उचित प्रशोधन एवम् शुद्धीकरण गरेर पनि रोग न्यूनीकरण गर्न सकिन्छ । मुसाजन्य जीवको उचित नियन्त्रण गर्ने हो भने पनि जोखिममा रहेका समुदायको जनस्वास्थ्य सुरक्षित राख्न सकिन्छ । व्यवसायजन्य स्वास्थ्य सचेतना एवम् सुरक्षाका विधि अवलोकन गर्ने हो भने ढल, फोहोर, मैला व्यवस्थापनमा काम गर्ने समुदाय कृषक तथा अन्य जोखिममा पर्न सक्ने समूह एवम् समुदायले आफ्नो काम गर्दा पनि निरोधक जुत्ता–पञ्जा प्रयोग गरी काम गर्ने–गराउने हो भने पनि रोगको प्रकोप न्यूनीकरण गर्न सकिन्छ । यसबाहेक शहरी ढल निकास साथै डुबान क्षेत्रको जल निकासलाई व्यवस्थित गर्ने हो भने पनि रोग न्यूनीकरण गर्न सकिन्छ ।
 
यसका लागि नीति–निर्माणको तहले तथा जनस्वास्थ्यकर्मी यस कुरामा सजग हुनु आवश्यक छ । गरिबी न्यूनीकरण, सामाजिक द्वन्द्व न्यूनीकरण अनि आधारभूत शहरी सरसफाइको उचित व्यवस्थामात्र गरे पनि यो रोगबाट बच्न बचाउन सकिन्छ । अन्तमा भन्न सकिन्छ, यो रोग नियन्त्रणको सजिलो उपाय सहज शहरी वातावरणीय सरसफाइ हो तर हाम्रो जस्तो विकाशील देशमा कार्यान्वयनमा कठिनाइ छ ।