धरान । सफा शहरको रूपमा परिचित धरानमा पछिल्लो केही महिनायता डेङ्गु रोगी फेला पर्न थालेका छन् । गत कात्तिकमा ८ जना डेङ्गु रोगी फेला परेका थिए । फेरि ३ बालबालिकामा डेङ्गुको लक्षण देखिएको छ । चिकित्सकको भनाइलाई आधार मान्ने हो भने यो डेङ्गुका लागि ‘अफ सिजन’ हो । तर, पनि शहरमा डेङ्गुका बिरामी फेला पर्नु आश्चर्यजनक छ । जनसहभागिताका कारण धरानमा चिल्ला सडकहरु छन् । चिल्ला घरहरू छन् । पानीको खडेरी बाह्रैमहिना छ । पानी नपाएर धरानेहरू प्याकप्याक्ती बनेका छन् । यस्तो अवस्थामा पानीमै आफ्नो अण्डा कोरल्ने लामखुट्टेको एक प्रजाति भने फैलिँदो छ । हेर्दा हाम्रा घर तथा सडकहरू जति चिल्ला र सुकिलामुकिला छन्, त्यति घरभित्र सफासुग्घर र पानी जम्ने स्थानहरु सफा नगर्दाको परिणाम डेङ्गु फैलिने माध्यम बनेको छ ।

बरु देहातका स्थानहरूमा डेङ्गु फैलिँदैन । शहर डेङ्गुले आक्रान्त छ । चिकित्सकहरूले शहरको सफाइ नहुँदा, प्रदूषित वातावरण, पानी जम्ने खाल्डाखुल्डी, ढलमा पानी जम्ने समस्याका कारण डेङ्गु फैलिने गरेको बताउँदै आएका छन् । तर, हाम्रा नागरमा बस्ने सभ्य नागरिकहरू यसप्रति सचेत देखिँदैनन् । आफूलाई राम्रो बनाउन शहरियाहरू उद्यत छन् । तर, आफ्नो घरवरिपरि सुन्दर बनाउने र डेङ्गु फैलिन सक्ने त्यस्ता पानीका खाल्डाखुल्डीहरू पुर्नका लागि जागरुक छैनन् । घर वरिपरि सफाइ नगर्दाको परिणाम धरानमा कात्तिकयता थुप्रै डेङ्गु सङ्क्रमित बिरामी फेला परिसकेका छन् ।

डेङ्गुलाई सामान्य ठान्ने हाम्रो प्रवृत्ति पनि दोषी छ । डेङ्गु लागिसकेपछि मान्छेको ज्यानै जान सक्छ भन्ने सोचको विकास हुन नसक्दा पनि हेल्चेक्र्याइँ गर्ने हाम्रो बानीको विकास भएको छ । डेङ्गु लागेमा शरीरको रगतमा पाइने प्लेटलेट्सको सङ्ख्या २० देखि ३० हजारमा झर्ने चिकित्सकहरूले बताइरहँदा पनि हामी सुनेको नसुने झैं गर्छांै । जसको परिणाम हामीले भोग्दै र सुन्दै आइरहेका छौं । एउटा भनाइ नै छ ‘रोग लाग्न दिनुभन्दा, सजगता अपनाउनु बेस’ । यस्ता उक्तिलाई आत्मसात गर्ने हो भने हामी पक्कै सचेत हुन्थ्यौं होला । तर, हामी नेपालीको आम प्रवृत्ति नै छ कि रोग लागिसकेपछि मात्रै उपचार खोज्छौं । रोगको भन्दा पनि हाम्रो मानसिकताको उपचार गर्नु चाहिँ श्रेयष्कर होला । हाम्रा सडक र घरमात्रै चिल्लो बनाउने होइन, घरभित्र पनि सफा र सुग्घर गर्ने हो भने हामीलाई यस्ता रोगहरु लाग्दैनन् र अनिवार्य रूपमा झुलको प्रयोग गर्नुपर्छ । आफ्नो हैसियतअनुसारको झुल तथा सफाइमा ध्यान दिने हो भने डेङ्गुजस्ता रोगहरू लाग्दैनन् कि रु