ताप्लेजुङ/ स्थानीयस्तरमा पाइने जडिबुटीको प्रयोगले विभिन्न किसिमका रोगहरूको सजिलै उपचार हुन्छ । तर समाजमा त्यस्ता औषधीय गुण भएका वनस्पतिहरूको पहिचान तथा प्रयोग गर्ने जनशक्ति न्यून हुँदै गएको छ भने यस्ता वनस्पतिको संरक्षणमा समेत जटिलता देखिएको छ । 
 
पहिले–पहिले कसैलाई दुर्घटनामा चोट लाग्यो या विभिन्न किसिमका रोग लागे स्थानीयस्तरमै पाइने जडिबुटीको प्रयोगबाट उपचार गरिन्थ्यो । यसरी आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा आर्थिक बोझ पनि कम हुने तथा बिना साइड इफेक्ट रोग निको हुने गर्दथ्यो । तर अहिले  बजारमा पाइने एलोप्याथिक औषधिको प्रयोग बढ्दै जाँदा यस्ता अमूल्य जडिबुटी पहिचान गर्ने जनशक्ति समाजमा एक–दुईजना मात्र छन् । औषधीय गुण भएका वनस्पतिको प्रयोगले विभिन्न किसिमका रोगहरू निको हुने स्थानीय बताउँछन् । 
 
‘गाउँमै धेरै किसिमका रोग हरू निको पार्ने औषधि छ’ फुङ्लिङ नगरपालिका वडा नं. ३ का तुलसीप्रसाद गिरी भन्छन्, ‘अस्पतालको औषधि भन्दा त कति गुना राम्रो हुन्छ, हुन्छ ।’ जङ्गलमा पाइने पाँचऔँले, लौठसल्ला, सतुवा, चिराइतो, खोकिम, तीतेपातीलगायतका वनस्पतिको प्रयोग गर्नसके रोग त सजिलै निको हुन्छ । साथै यस्ता वनस्पति पहिचान गर्न सक्ने जनशक्तिमा समेत कमी आउँदैन ।
 
‘पहिले –पहिले घरका एकजनाले जडिबुटीको काम गर्थे, अहिले त गाउँमै पाउन गाह्रो छ’ गिरी भन्छन्, ‘अब सरकारले पनि यस्तो जनशक्ति विकास गर्नेतर्फ ध्यान दिनुप¥यो ।’ यस्ता जडिबुटीको पहिचान गर्ने जनशक्ति कम भइरहेका बेला स्थानीयलाई जडिबुटी पहिचानको तालिम दिनुपर्ने जडिबुटीबाट उपचार गर्दै आएकाहरूको माग छ । अझै पनि विकट तथा स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा धामी–झाँक्रीको विश्वास गर्ने गर्दछन् । ‘अझै पनि हाम्रो गाउँघरमा धामी–झाँक्रीमा नै विश्वास गर्ने चलन छ । अब धामी–झाँक्रीहरूलाई नै जडिबुटी पहिचान गर्ने तालिम दिनुपर्छ’ मैवाखोला गाउँपालिकाका राधेश्याम अधिकारी भन्छन्, ‘अनि मात्र जडिबुटीको संरक्षण तथा व्यवस्थापन हुन्छ । नत्र त अबको पुस्ताले चिन्न पनि चिन्दैनन् ।’
 
यता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले पनि आयुर्वेद विभागको निर्देशनअनुसार स्थानीयस्तरमा गएर जडिबुटी पहिचानका तालिम सञ्चालन गरिरहेको छ । ताप्लेजुङमा पाँचआँैले, बिखमा, कुड्की, जटामसी, चिराइतो, सर्मागुरु, पदमचाल, पाखनवेद, टिमुर, यार्सागुम्बा, खोकिम, अलैंची आदि प्रमुख जडिबुटीहरू पाइन्छन् । खोज र अन्वेषणको कमीले धेरै जडिबुटीहरू प्रकाशनमा आएका छैनन् । यस क्षेत्रमा बहुमूल्य वनस्पतिहरू चाँप, लौठसल्ला, धुपी सल्ला, गुराँस, भूइँचुकसमेत पाइने गरेको छ ।