पथरीशनिश्चरे । उत्तरपूर्वी मोरङका ६ पालिकाले मानव जीवनको जटिल स्वास्थ्य समस्याका रुपमा रहेको क्यान्स रोग लाग्न नदिन स्थानीयलाई सचेत गराउने अभियान थालेको छ ।
उर्लावारीस्थित अरनिको अस्पतालको संयोजनमा १ वर्षदेखिबाट यो खाले कामको योजना बनेको हो । उर्लावारी, पथरीशनिश्चरे, कानेपोखरी, मिक्लाजुङ, लेटाङ र रतुवाई क्षेत्रलाई समेटेर क्यान्सर रोग लाग्न नदिने र लागेमा तत्काल उपचार गर्न सचेत गराउने अभियानको मुख्य लक्ष्य राखिएको छ । जस अन्तर्गत ६ वटै पालिकामा रहेका क्यान्सरपिडीतको संख्या संकलन गरेर सम्वन्धित अस्पतालमा शुलभ मुल्यमा प्रभावकारी उपचारका लागि समन्वय गर्ने मुख्य योजना बनाइयो । अर्कातर्फ क्यान्सर रोगबाट कसरी बच्ने भन्ने जनचेतनाका लागि विभिन्न समूह तथा समुदायमा पुग्ने योजना पनि सँगसँगै लाने । अनि अरनिको अस्पतालमा क्यान्सर सूचना केन्द्र समेत गठन गरियो । अस्पतालका प्रवन्ध निर्देशक चिरञ्जिवी चुडाल संयोजक रहेको ६ वटा पालिकाका जनप्रतिनिधिहरु समेतको ९ सदस्यीय समिति निर्माण गरी कार्ययोजना वनाउने क्रम अघि बढेको हो ।
क्यान्सर जाँच शिविर तथा सचेतना अभियानका लागि ६ पालिकाका नर्सिङ र स्वास्थ्य प्राविधिक गरी ३७ जनालाई तालिम प्रदान गरिएको छ । उनीहरुलाई वडा वडामा खटाउने समितिको निर्णय छ । अरनीको अस्पतालमा सवैदिन महिलाका लागि पाठेघरको मुखको क्यान्सर (भीआइए), पिसाब चुहिने फिस्टुला तथा आङखस्ने रोग, महिला तथा पुरुषहरुको यौनजन्य रोगहरुको परिक्षण थालेको समिति संयोजक चुडालले सुनाए । उनले अरनिको अस्पतालमा हालसम्म १ हजार ८ सय मानिसको क्यान्सर जाँच गर्दा ९९ जना महिलामा पाठेघर, छात्ती तथा मुखको क्यान्सर फेला परेको वताए । त्यहाँ निशुल्क शिविर समेत सञ्चालन गरिएको थियो । ‘यसैगरी सवैतिरका स्वास्थ्य निकायले शिविर सञ्चालन गर्ने । अनि तालिमप्राप्त स्वास्थ्यकर्मीले वडा वडाबाट पिडीत पत्ता लगाउने र क्यान्सर लाग्न नदिने जनचेतना फैलाउने कामलाई सक्रियतापूर्वक अघि बढाउनु छ ।’– संयोजक चुडालले प्रष्ट्याए ।
क्यान्सर रोगबाट वच्नका लागि खानपानदेखि दैनिक दिनचर्याका कुराहरुका बारेमा विद्यालय, क्याम्पस, आमा समूह, किसान सहितका संघ संस्थाहरुमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट बेला बेला सचेतना गराउने अनि तिनीहरुबाट समाजका सामान्य मानिसलाई सचेत गराइने छ । किसानका लागि रसायनिक मल विषादीको प्रयोग हटाएर अर्गानिक प्रयोग गर्ने तथा अन्य समुदायमा पनि कुन खानाका कारण क्यान्सर हुन्छ भन्ने कुरामा सचेत गराउने समितिको योजना अघि बढ्दैछ । इलेक्टिेनिक्स डिभाइसको रेडियमले ब्रेन ट्यूमर, चाउचाउ, चिप्स जस्ता जङ फूडले बोन म्यारो, ब्लड क्यान्सर जस्ता समस्या आउने हुनाले खानपानमा ख्याल गर्नुपर्ने कुरा समितिले सचेतना छर्नेछ ।
पथरीशनिश्चरेमा ४२० महिलाको परीक्षण :
महिलामा हुने क्यान्सर रोग पहिचान गरी उपचारमा पहल गर्ने पथरीशनिश्चरे नगरपालिकाले विहीवार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नगरपालिकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर
मुख्य रुपमा पाठेघरको मुखको क्यान्सर परिक्षण ( भीआइए) लाई प्राथमिकता दिँदै पिसाब चुहिने (फिस्टुला ) तथा आङखस्ने रोग र यौन रोगको परीक्षण गरिएको छ । जसमध्ये १९ जनामा पाठेघरको क्यान्सर देखा परेको छ । ३४ जनामा पाठेघरको मुखको घाउ, ६७ जनामा सेतो पानी वग्ने सहितका यौन देखा परेको छ । ९० जनामा पाठेघरको विभिन्नखाले समस्या देखिएर भिडियो एक्सरे गरिएको छ । ३० जनामा सिस्टोसिल, १६ जनाको पाठेघर खसेको, एकजनाको पिसाव चुहिने फिस्टुला समस्या देखा परेको छ ।
पथरीशनिश्चरे नगरपालिकाको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय र अरनिको अस्पताल उर्लावारीको प्राविधिक सहयोगमा स्थानीयको उत्साहपूर्ण सहभागिामा शिविर सञ्चालन भयो । रेडियोलोजिष्ट अरनिको अस्पतालका डा. विशालप्रतिक मिश्र, मोरंग सहकारी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाह, अरनिको अस्पतालका स्त्री रोग विशेषज्ञ गौरीशंकर झा, विरानगरकी नर्सिंग विशेषज्ञ अञ्जु खनालको टोलीले स्वास्थ्य परीक्षण गरि सल्लाह प्रदान गरेको छ । कार्यक्रमको विशेष अतिथि नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर वस्नेत, अरिनको अस्पतालका प्रवन्ध निर्देशक चिरञ्जिवी चुडाल सहितले यसखाले अभियानले विपन्न महिलाका लागि अझ बढी सहयोग पुग्ने जनाए । विहीवारदेखि नै नगरमा रहेका स्वास्थ्यचौकीहरुमा नियमित रुपमा महिलाको भीआइए जाँच हुने स्वास्थ्य संयोजक मुरारी आचार्यले घोषणा समेत गरे ।
१५ शैयाको अस्पताल स्वीकृत :
पथरीशनिश्चरे नगरपालिका र नगरवासीको स्वास्थ्य योजनाप्रतिको चासोको प्रभावका कारण हालको स्वास्थ्य चौकी पथरीमा डाक्टर सहितको १५ शैयाको अस्पतालको स्वीकृती भएको नगर प्रमुख दिलिपकुमार राईले सुनाए । राई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलबीच सो खाले स्वीकृतीका बारेमा जानकारी आदान प्रदान भएको छ । वडा नम्वर २ मा रहेको हालको स्वास्थ्य चौकी भवन निर्माणमा स्थानीयले १२ कठ्ठा बढी जग्गा दान गरेका छन् । अव अस्पताल निर्माणका लागि २३ कठ्ठा जग्गा पुर्याउन स्थानीय तयार रहेका छन् ।