विराटनगर/ ६ वर्षअघि सवारी दुर्घटनामा परी दायाँ खुट्टा गुमाएका सप्तरी–६ राजविराजका दिनेश देव अहिले  सबलाङ्ग मानिस जस्तै गरी हिँडडुल गर्न सक्ने भएका छन् । देव चढेको बस अर्को बससँग ठोक्किएर दुर्घटनामा पर्दा उनको दायाँ खुट्टाको हड्डी ४० टुक्रा भएर चँुडिएको थियो । उपचारपछि कृत्रिम खुट्टा लगाएर अहिले सबलाङ्ग मानिस जस्तै गरी हिँडडुल गर्न सक्ने भएपछि देव खुशी भएका हुन् ।
 
पाँचथरकी प्रभा आङ्देम्बेले पनि सवारी दुर्घटनामा परी बायाँ हात गुमाएकी थिइन् । उनी  पनि सोमबार विराटनगरस्थित सिविआर संस्थामा आएर कृत्रिम हात लगाएपछि हर्षित देखिइन् । कृत्रिम हात–खुट्टा लगाइदिएर सबलाङ्ग जस्तै गरी हिँडडुल गर्ने अवसर केदारमल तोदी निजी ट्रष्ट र सिविआर विराटनगरले प्रदान गरेको हो । 
 
दुर्घटनामा परेपछि खुट्टा गुमाउन पुगेका देव अहिले घरैमा बसेर व्यवसाय सञ्चालन गर्दै आएका छन् । ‘एकपटक मरेर बाँचे पनि अरुको बोझ हुन्छु भन्ने लागेको थियो । अहिले ममा आशा पलाएको छ’ ट्रष्टको आर्थिक सहयोगमा र सिविआरले कृत्रिम खुट्टा उपलब्ध गराइदिएपछि देवले भने, ‘खुट्टा गुमाएको त्यो क्षण बिर्सिन थालेको छु ।’ सबलाङ्ग मानिस जस्तै गरी अहिले हिँडेर काम गर्ने गरेको उनले बताए । ‘सानो व्यवसाय सञ्चालन गरेको छु’ उनले भने, ‘घरमा आवश्यक पर्ने सामग्रीहरू पनि आफै बजार गएर ल्याउने गर्दछु ।’ खुट्टा गुमाए पनि ज्यान बचाएका उनी जीवन यत्तिकै रहेछ भनेर हरेश खाइरहेका बेला कृत्रिम खुट्टा लगाइरहँदा हर्षित मुद्रामा देखिन्थे । उनी भन्छन्, ‘कृत्रिम खुट्टा पाएपछि सग्लो मान्छे जस्तै हिँडडुल गर्न सक्ने भएको छु ।’ साइकल आफै चलाएर बजार जाने गरेको उनले बताए । ‘कृत्रिम खुट्टा लगाएपछि हलुका पनि हुँदो रहेछ,’ उनले भने, ‘कति सजिलो छ । जत्ति दुःख भोग्नु थियो भोगेँ, अब म सुखीको दिन आयो ।’ 
 
मोरङ कटहरी गाउँपालिकाका अम्दुल सरदार ह्वील चेयर (ट्राइ साइकल) पाउँदा फुरुङ्ग  देखिए । ह्वील चेयर पाएपछि उनले भने, ‘मलाई जीवन जिउन केही सजिलो बनायो । आफ्नै साथमा ह्वील चेयर भएपछि घरबाहिर निस्कन सहज भएको छ ।’ मोरङका सरदार, सप्तरीका देव र पाँचथरकी आङदेम्बेलाई मात्र होइन, १७ जना शारीरिक अपाङ्गगता भएका व्यक्तिहरूलाई सिविआर विराटनगरको प्राविधिक र ट्रष्टको २ लाख रुपैयाँ सहयोगमा कृत्रिम हात, खुट्टासँगै विभिन्न सामग्रीहरू प्रदान गरिएको सिविआरकी अध्यक्ष स्नेह पोखरेलले जानकारी दिइन् । कृत्रिम हातखुट्टा पाउने प्रायः दुर्घटनामा परेर शारीरिक अपाङ्गता भएका हुन् ।
 
शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री वितरण कार्यक्रममा बोल्दै ट्रष्टका अध्यक्ष केदारनाथ तोदीले परोपकारी भावना अनुरूप अपाङ्गता भएकाहरूलाई सहयोग गरेको बताए । अपाङ्गता भएर हिँड्डुल गर्न नसक्ने व्यक्तिहरूलाई निरन्तर रूपमा सहयोग गर्दै अगाडि बढ्ने उनले बताए । कार्यक्रममा प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले कृत्रिम खुट्टा पाएकाहरूले समाजमा आफ्नो कार्यकुशलता प्रदर्शन गर्न अब सक्षम हुने बताए ।