इटहरी/ विद्युत् प्राधिकरणले विजुलीका लागि गाडेको खम्बामै विभिन्न सेवा प्रदायकले टेलिफोन, केबल र इन्टरनेटका तार जथाभावी टाँग्दा इटहरी कुरुप बन्दै गएको छ । 
 
केही कम्पनीले अनुमति बिनै लामो समयदेखि तार टाँग्दै आए पनि विद्युत् प्राधिकरण मौन बस्दै आएको छ । जसले जुन मन लाग्यो, त्यही पोलमा तार टाँगेका छन् । एउटै खम्बामा तीन सय वटासम्म तार टाँगिएका छन् । चोक, सडक र गल्लीमा विजुली, टेलिफोन र इन्टरनेटका तारले शहर नै कुरुप बन्दै गएको भए पनि विद्युत् प्राधिकरण मौन बस्दै आएको छ ।
 
क्लासिक टेक नेट कम्पनीले पोलमा टाँगेको तारको करिब दुई लाखभन्दा बढी रकम प्राधिकरणलाई बुझाएको छैन । त्यस्तै आइजोनले लाखभन्दा बढी रकम बुझाएको छैन । टेक माइण्ड र आइटेलले पनि लामो समयदेखि विद्युत् प्राधिकरणलाई पोलमा तार राखेबापतको रकम नबुझाएको विद्युत् प्राधिकरण इटहरीका प्रमुख मिथिलेसकुमार गोहिबारले बताए । 
 
इटहरीमा जताततै तारका गुजुल्टा देखिन्छन् । एउटै घरमा तलैपिच्छे, कोठैपिच्छे अव्यवस्थित रूपमा तार टाँगे पनि विद्युत् प्राधिकरण इटहरीले नदेखे झैं गर्दै आएको छ । जसका कारण सरकारलाई राजश्वमा घाटा त भएकै छ त्योसँगै शहरको सौन्दर्यसमेत घटेको मात्र छैन, सुरक्षा चुनौती पनि थपिएको प्रमुख गोहिबार बताउँछन् ।
 
इटहरीमा रहेका ४ वटा सेवा प्रदायक कम्पनीहरूले विद्युत् प्राधिकरणको अनुमति नलिई सञ्चालन गर्दै आएको पाइएको छ । उनीहरूलाई एक हप्ताभित्र राजश्व नबुझाए लाइन काटिदिने प्राधिकरणले चेतावनी दिएको छ । स्थानीयहरू भने प्राधिकरणकै बेवास्ताले यस्तो समस्या निम्तिएको बताउँछन् ।
 
इटहरी पश्चिम लाइनका व्यापारी दामोदर बस्नेत जथाभावी तारले इटहरीको सौन्दर्य बिगारेको र राज्यलाईसमेत घाटा भएकाले प्राधिकरणले चासो लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘प्राधिकरणले किन नदेखेजस्तो गरिरहेको छ, आमनागरिकले खोजी गर्नुपर्छ ।’