ताप्लेजुङ/ फुङलिङ नगरपालिका–९ का दावारेञ्जी शेर्पाले गत वर्ष प्रतिमन १६ हजारले ४० मन चिराइतो खरिद गरे । शेर्पाले किने लगत्तै भाउ ओरालो लाग्यो । र, भाउ बढ्ने आशामा एक वर्ष त्यत्तिकै राखे । यस वर्षको सिजन अन्त्य हुन लाग्दासमेत नबढेपछि केही समय अघि प्रतिमन साढे सात हजारले बेच्न बाध्य भएको शेर्पाले बताए । ‘मूल्य बढ्ला भनेर एक वर्षसम्म राखियो,’ शेर्पा निराश हुँदै भन्छन्, ‘झन् घट्ने छाँट देखेपछि घाटा सहेरै बेचेको हुँ ।’ कृषक समेत रहेका उनले ४५ रोपनीमा चिराइतो लगाएका छन् ।

दुई वर्ष अगाडि मूल्य बढेर प्रतिमन ४० हजारसम्म पुगेपछि हौसिएर चिराइतो लगाएका शेर्पा निराश छन् । सिरिजङ्गा गाउपालिका–८ याम्फुदिनका कृषक रामबहादुर तामाङले पनि दुई वर्ष बिटाबिटा बनाएर घर नजिकैको गुवालीमै थुपारे । उनले पनि साढे सात हजारमै बेच्नुप¥यो । फक्ताङलुङ गाउपालिका–६ लेलेप लावाजिनका जितबहादुर राई पनि चिराइतोले भाउ नपाउँदा चिन्तित छन् । अलैंची उत्पादन नहुने यो क्षेत्रका स्थानीयको आम्दानीको स्रोत नै चिराइतो हो । पूर्वको याम्फुदिन र उत्तरको लावाजिनका मात्रै नभएर जिल्लाभरिका कृषक चिराइतोको मूल्य घटेपछि निराश छन् । साढे सात हजारमा बेच्दा खर्च समेत नधान्ने तामाङको भनाइ छ ।

‘यति मूल्यमा बिक्री गर्नु शून्य आय हुनु हो ।’ तामाङले भने । व्यापारीले सडकमा पु¥याउँदा मात्रै त्यति मूल्यमा किन्ने कृषकहरू बताउँछन् । याम्फुदिनमा रामबहादुरले यातायात चल्ने आम्बेगुदिनको हप्पुखोला एक क्विण्टलको भाडामात्रै पाँच हजार रुपैयाँ बुझाउनु पर्छ । त्यो पनि खच्चडले बोक्न मानिदिए मात्रै । रामबहादुर भन्छन्,‘मान्छेलाई त त्योभन्दा बढी दिनुपर्छ, गोडमेल गरेको, उखेलेको, बारीबाट घरसम्म ल्याएको एक पैसा हात लाग्दैन ।’ मूल्यमा गिरावट आएपछि व्यवसाय धान्नै गाह्रो परेको व्यापारीहरू बताउँछन् ।

‘सरकारलाई प्रतिकिलो १५ रुपैयाँ राजस्व तिर्नुपर्छ, ढुवानीमा ठूलै खर्च हुन्छ, मूल्य पनि छैन,’ व्यापारी रुद्र अधिकारीले भने, ‘अझै पनि मेरो गोदाममा १ सय मन जति स्टक छ ।’ अधिकारीका अनुसार झापामा हाल साढे आठ हजारमा चिराइतो बिक्री हुन्छ । माग नै कम भएकाले मूल्यमा गिरावट आएको अधिकारीको बुझाइ छ । केही वर्ष पहिलेसम्म पूर्वका जिल्लामा उत्पादित चिराइतोको बजार भारतमात्र थियो । तर पछिल्लो तीन वर्षयता बङ्गलादेश, तिब्बतलगायतका क्षेत्रमा बढी मूल्य पाउने भएपछि त्यता पनि व्यापार गर्ने गरिएको थियो ।

ताप्लेजुङसहित इलाम, पाँचथर, तेह्रथुम र सङ्खुवासभाको समेत चिराइतो ओलाङचुङ्गोलाबाट तिब्बत निर्यात हुने गरेको भए पनि अहिले झापातिर पनि लाने गरिएको अधिकारीले बताए । अघिल्ला वर्षहरूमा मूल्य उच्च हुँदा हेलिकोप्टरबाट समेत तिब्बत लगिएको थियो । ब्यापारीका अनुसार चार वर्षअघि एक लाख प्रतिक्विण्टल रहेको मूल्य तीन वर्षअघि ३० हजार भएको थियो । गत वर्ष ८ हजारमा झरेको मूल्य अहिले साढे सात हजारमा पुगेको हो । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा १ हजार, पाँचथर र इलामम ४ हजार टनको हाराहारिमा उत्पादन हुने गरेको छ ।

वन कार्यालयले चिराइतो खेती गर्ने कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ । चिराइतोले राम्रो मूल्य पाउन थालेपछि पूर्वी पहाडी जिल्लाहरूमा गाउँलेहरूबीच चिराइतो खेती गर्ने लहर चल्न थालेको थियो । तर अचेल किसानहरू निराश छन् । समुद्री सतहबाट करिब १२ सयदेखि ३ हजार मिटर उचाइसम्म पाइने चिराइतो एक किसिमको जडीबुटी हो । औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिवर्धक टनिक र बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ ।

‘स्वेरसिया चिराता’ वैज्ञानिक नामको यो जडीबुटी कीटाणुनाशक मानिन्छ । चिराइतो खेती यसको बिउबाट गरिन्छ । यसलाई समशितोष्ण जलवायु र आद्रतापूर्ण क्षेत्र उयुक्त हुन्छ । जमिनमा पानीको राम्रो निकास हुनुपर्छ । कात्तिक, मङ्सिरतिर बिउ छरिन्छ । बिउ सानो हुने भएकाले पहिले नर्सरीमा बेर्ना बनाएर सार्दा अझ राम्रो हुन्छ । असार, साउनदेखि असोजसम्ममा यसको फूल फुल्छ । फूल परिपक्व भएपछि चैत महिनाअघि नै बोटै उखेल्नुपर्छ । १ हजार ५ सयभन्दा माथिको उचाइमा सप्रिने चिराइतोबाट आम्दानी लिन रोपिएको अढाई वर्ष पर्खनुपर्छ । चिराइतो जङ्गली जनावरले नखाने र रोगकीरा समेत नलाग्ने बिरुवा हो ।