अङ्ग्रेजी क्यालेण्डरअनुसार मार्चलाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासय क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने महिनाका रूपमा लिइन्छ । नेपालमा पनि यो महिनामा विभिन्न कार्यक्रम गरेर रोगको रोकथाम, उपचारलगायतका विषयमा चेतना फैलाउने काम भएको छ ।

ठूलो आन्द्रा (कोलन) र मलासय (रेक्टम) मा हुने क्यान्सर मानिसलाई हुने क्यान्सरमध्ये तेस्रो ठूलो रोगमा पर्छ । नेपालमा यो रोगका कति बिरामी छन् भन्ने आधिकारिक तथ्याङ्क छैन । तर, अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हेर्दा बिरामीको सङ्ख्या निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ ।

विश्वको तथ्याङ्कलाई हेर्ने हो भने हरेक वर्ष यो रोगका १८ लाख नयाँ बिरामी देखापर्ने गर्छन् । तीमध्ये झण्डै ५० प्रतिशत अर्थात् ९ लाखले यो रोगका कारण ज्यान गुमाउने गरेका छन् । समयमा नै रोगको पहिचान हुने हो भने अकालमा हुने यो मृत्युलाई धेरै काम गर्न सकिन्छ ।

नियमित स्वास्थ्य जाँच÷परीक्षण गराउने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ ।
रोगको जोखिम कसरी घटाउने ?

यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छः
– ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रूपमा ठूलो आन्द्रा र मलासय क्यान्सरको जाँच र परीक्षण गराउने, किनकि यदि ठूलो आन्द्रा तथा मलासय क्यान्सर रोग शुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगीमध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा पहिलेकै अवस्थामा फर्काउन सकिन्छ ।
– पर्याप्त रेशादार तथा चिल्लो कम भएको सन्तुलित भोजन गर्ने,
– यदि मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठीक्क मात्रै पिउने बानी गर्ने, धूमपानको बानी भए तुरुन्तै त्याग्ने । मद्यपान र धूमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलासयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्छ ।
– साताको ३ देखि ४ पटक कम्तीमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने, सामान्य शारीरिक व्यायाममा छिटो–छिटो हिँडडुल गर्ने, करेसाबारी वा बगैंचामा काम गर्ने वा भ¥याङ उक्लिने जस्ता कार्यहरू गर्न सकिन्छ ।

यो रोगको उपचार हुनसक्छ ?
ठूलो आन्द्रा र मलासयका अर्वुदरोगका लक्षणहरू निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ । यस रोगको जाँच–परीक्षण विशेषतः दुई कारणले लाभदायक हुनसक्छ ।
– यदि ठूलो आन्द्राका फोकाहरू, जसले पछि क्यान्सरको रूप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने ।
– यस रोगको उपचार तबमात्र सम्भव हुनसक्छ, जब यसलाई शुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ ।
रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलासयका सबैखाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुनसक्छ । शल्यक्रियाका साथसाथै रेडिएसन थेरापी तथा किमोथेरापी पनि साथसाथै चलाउनुपर्ने हुन्छ । रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुन्छ । यसले समयमै र नियमित रूपमा गरिने जाँच–परीक्षणको महत्व दर्शाउँछ ।
यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने ठूलो आन्द्रा तथा मलासयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धी रोगहरूको निदानात्मक एवम् उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनीहरूद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रूपमा हुनसक्ने तथा उपचारपश्चात्का जटिलताहरू समेत कम मात्रै देखापर्ने गर्छन् ।

(कोलोरेक्टल तथा जनरल सर्जन)
–स्वास्थ्यखबरबाट