भद्रपुर / झापाका विभिन्न नाकाबाट चौपाया भारत तर्फ तस्करी भइरहे पनि प्रहरीले चासो देखाएको छैन । दक्षिणी झापाको कचनकवल, राजगढ, जलथल नाकाबाट दिनहँु प्रहरी कै अगाडिबाट भारततिर गाईगोरु तस्करी भइरहेपनि उनीहरु मुकदर्शक वनेका छन् ।
राजगढ, चकचकी, घैलाडुब्बा, धुलाबारी, भद्रपुरलगायतका बजारमा विभिन्न मालबाहक सवारी साधनमा कोचेर कारोबारीले चौपाया ल्याउने गरेका छन् । बजारबाट निकासी कर तिरेर भन्सार नकाटी जनपथ, सशस्त्र प्रहरीलगायतलाई खुसी पारेर दिउँसै ट्रकमा वा हिडाएर दसगजा पुर्याउने गरेका छन् । झापामा चौपाया तस्करी हुने विषयमा प्रहरी प्रमुख, प्रशासनलगायत अधिकाँसलाई जानकारी भए पनि नियन्त्रणमा चासो देखाएको पाइदैंन । अवैध गतिविधि रोक्न जिल्लाबाट मात्र नभई क्षेत्रीय कार्यालयबाट दुवै तर्फका सादा पोसाकका प्रहरी परिचालन गरे पनि लेनदेनमा नमिलेका सामाग्री मात्र बरामद गर्दै आइरहेको विगतका घटनाक्रमले पुष्टि गरिसकेको छ ।
भन्सारबाट एक पटकमा १ सय १३ रुपैयाँ राजस्व तिरेर गाई बाहेकलाई लैजाने नियम रहे पनि कारोबारीले नियमलाई उलङघन गरि तस्करीको माध्याम मार्फत भारत लैजादै आएका छन् । कहिले कही काम गरिरहेको देखाउनलाई चौपाया कारोबारीकै सल्लाह बमोजिम प्रहरीले देखावटी रुपमा गाइगोरु समाउने गरेको छ । केही दिन अघि पनि नेपालबाट भारततर्फ लगिरहेको सात वटा गाईसहित एउटा पिकअप भ्यान र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सीमा प्रहरी चौकी केचनाका असई डिकबहादुर राउतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कचनकचव ४ स्थित पकलावन भन्ने स्थानबाट गाईसहित भ्यान नियन्त्रणमा लिएको थियो । हल्दीबारी केरिएर लेखिएको रातो नम्बर प्लेटको १ च ५५६० नम्बरको पिकअप भ्यानमा सात वटा गाई लोड गरिएको थियो । भ्यानमा लोड गरिएको गाई सोजै भारततर्फ गइरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका थिए । भन्सारको नियम अनुसार गोरुको मात्र निकासी काटिने भएकोले गाईगोरुको चोरी निकासी बढेको भन्सार कार्यालयले जनाएको छ । हालसम्म भन्सारबाट गोरुको निकासी नकाटिएको भद्रपुर भन्सार प्रमुख फणिन्द्र खतिवडाले बताए । थोरै रकम लाग्ने भएपनि व्यापारी नआएको उनले बताए ।
भन्सारमा निकासी कर नकाटिएका चौपाया तस्करी कै माध्यामबाट भारत जाने भन्सारको तथ्याङ्ले पुष्टि गरेको छ । मातहातका सवै प्रहरीलाइ चौपाया नियन्त्रणका लागि कडा निर्देशन दिइरहेको डिएसपी श्रेष्ठको भनाई छ ।