भद्रपुर/ सीमा क्षेत्रमा अवैध रुपमा सामान ओसारपसार गर्ने कारोबारी र सशस्त्र प्रहरीबीच शुक्रबार झडप भएको छ । भन्सारबाट सय मिटर टाढा लक्ष्मीनारायण मन्दिरअगाडिको सडकमा सशस्त्र प्रहरीले पिकअप भेनमा लोड गरिएको ४ लाख रुपैयाँबराबरका पाँच पोका लत्ताकपडा नियन्त्रणमा लिएपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
[caption id="attachment_13378" align="alignleft" width="632"]
सीमा सुरक्षा कार्यालयबाट विशेष प्रहरीका रुपमा खटिएका प्रहरी जवानहरु डिल्ली र हर्कले शङ्का लागेर नियन्त्रणमा लिएका सामान स्थानीय कारोबारी तुलाराम हलुवाईको रहेको स्रोतले बताएको छ । सामान रोकेर उनीहरुले कारोबारीसँग प्रज्ञापनपत्र मागेका थिए । तर समूहमा रहेका कारोबारीले प्रज्ञापत्रपत्र नदिई उल्टै उनीहरुलाई नियन्त्रणमा लिन खोजेका थिए । दुईमध्ये हर्कलाई उनीहरुले नियन्त्रणमा लिई डिल्लीको मोबाइल फोनसमेत खोसेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसपछि कारोबारीले भेनबाट सामान निकालेर लुकाउन खोजेका थिए । व्यापारीसँगको मिलोमतोमा भन्सारले विनाप्रज्ञापनपत्र सामान छाडेपछि सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालयबाट खटिएको टोलीले अपराह्न भद्रपुर बजारमा सामान रोकेको थियो । सशस्त्रले वडा प्रहरीको मोबाइल टोलीसँग सहयोग माग्न खोजे पनि टोलीले सहयोग नगरेको बताइएको छ । कारोबारी र सशस्त्र प्रहरीबीच सडकमा झडप भइरहँदा भद्रपुर वडा प्रहरी कार्यालयको मोबाइल टोली घटनास्थल पुगेको थियो ।
सो टोली आउँदा सडकमा सामान छरपष्ट रहेको एक स्थानीयले बताए । वडा प्रहरीलाई जिम्मा लगाएर सशस्त्र प्रहरीका जवान थप सहयोग माग्न गएका बेला घटनास्थल पुग्दमा सामान र पिकअप भेन दुवै नरहेको सशस्त्र प्रहरी स्रोतको दावी छ । मोबाइल टोलीका कमान्डर असई उद्धव खड्काले भने घटनास्थल पुग्दा सामान र पिकअपभेन नरहेको जवाफ दिए । घटनाले उग्र रुप लिएपछि कारोबारीमध्येका एकजनालाई सशस्त्रको टोलीले पक्राउ गरी सीमा सुरक्षा कार्यालय लगेको थियो । तर उनलाई पनि राजनीतिक दलको दवाबमा केही युवाले छुटाएर लगेको बुझिएको छ । सीमा सुरक्षा कार्यालयका एसपी आनन्द नेम्बाङले सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिन खोजे पनि सफल हुन नसकेको बताए । छोटी भन्सारका अधिकृत दीपक अधिकारीले अहिलेकोे अवस्थामा भन्सारभित्रैबाट विनाप्रज्ञापनपत्र सामान लैजान नसक्ने जिकीर गरे । भद्रपुर छोटी भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा अनियमितता हुने गरेको समाचार यसअघि ब्लाष्टमा प्रकाशित भएपछि केही दिन मेची भन्सार प्रमुखसहित झापाका प्रहरी–प्रशासनले कडाइ गरेका थिए ।
अहिले फेरि भन्सार कर्मचारीकै मिलोमतोमा कारोबारीको सेटिङमा तस्करी धन्धा मौलाउन थालिसकेको स्थानीय बताउँछन् । यसै क्रममा शुक्रबार बिहान भन्सार अगाडिबाट पाँचवटा सिटी रिक्सामा गाडीका टायरका १५ थान रिङ खुलेआम भित्रिएको छ । रिङ आएको तस्विर पत्रकारले खिचेपछि कारोबारीले अन्य पत्रकारमार्पmत् समचार रोकिदिन भन्दै फोटो खिच्ने पत्रकारलाई भेटेमा जे पनि हुनसक्ने धम्की दिएका थिए । विगतदेखि नै भद्रपुरमा रहेर सिकन्दर खानले भारतबाट पुराना रिसोलिङ टायर तथा रिङको कारोबार गरिरहेका छन् ।