भद्रपुर/ झापामा पहिलो पटक रात्रिकालीन नकआउट फुलबल प्रतियोगिता हुने भएको छ । झापा भद्रपुर नगरपालिका–५ मा रहेको एलेभेन साइनिङ स्टारको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

क्लबले बुधबार बिहान नगर प्रमुख जीवनकुमार श्रेष्ठलगायतका जनप्रतिनिधि, खेलप्रेमी, पत्रकारसँगको अन्तक्र्रिया तथा छलफल कार्यक्रमको आयोजना गरी प्रतियोगिताका बारेमा सार्वजनिक गरेको हो । नयाँ वर्षको उपलक्ष्यमा आगामी वैशाख ३ गतेबाट भद्रपुर माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष दिलिप भूइँमालीले बताए ।

खेलाडीहरूको उत्पादनसँगै भद्रपुरमात्र नभएर प्रदेश–१ लाई नै खेलकुदको हब बनाउन यो वर्ष फरक ढङ्गले यस्तो प्रतियोगिता सञ्चालन गर्ने निधो गरिएको अध्यक्ष भूइँमालीको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि सबै क्षेत्रसँग छलफल र समन्वय भइरहेको उनले जनाए ।

१ महिला टिमसहित ९ टिमले सहभागिता जनाउने भूइँमालीले जानकारी दिए । ९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः १ लाख र ५० हजार नगद पुरस्कार पाउने क्लबले निर्णय गरेको भूइँमालीले बताए । पुरस्कारसँगै अन्य गरी अनुमानित १४ लाख २० हजार रुपैयाँ खर्च हुने क्लबले जनाएको छ ।

प्रतियोगिता सञ्चालनको लागि क्लबका अध्यक्ष भूइँमालीको संयोजकत्वमा ११ जना मूल आयोजक समितिसमेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा बिर्जु साह, सचिवमा भीम पकुवाल, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सदस्यहरूमा रवि मुखिया, नवीनचन्द्र गुरुङ्, शिवा महतो, किरण दाहाल, शुभम राय, सौरभ मुखिया र शनि यादव रहेका छन् ।

रात्रिकालीन खेलकुद प्रतियोगिता भएकाले शान्ति सुरक्षा मुख्य चुनौती रहेको वडा नम्बर ४ का अध्यक्ष हंशधर राजवंशीले जनाए । कुनै पनि प्रतियोगिता आयोजना गर्दा राजनीतिक गन्ध नआउने गरी साझा रूपमा हुनु पर्ने उनको सुझाव थियो । भद्रपुरको साख जोगाउन फुटबललगायत विभिन्न खेलमा नगरपालिका सकारात्मक रहेको मेयर श्रेष्ठले बताए । रात्रिकालीन फुटबल प्रतियोगिता झापामा पहिलो पटक हुँदैछ भने गत वर्ष विराटनगरमा सम्पन्न भएको थियो ।