ताप्लेजुङ /  ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार निर्माणका लागि प्रतिस्पर्धा गरिरहेका दुई मध्ये एक कम्पनीले हात झिकेको छ । निमार्णका लागि प्रतिस्पर्धामा रहेका पाथिभरा माता देवी दर्शन केवलकार प्रालि र त्रिवेणी केवलकार प्रालि मध्ये त्रिवेणीले हात झिकेको हो । त्रिवेणीले हात झिकेसँगै पाथिभरा माता देवी दर्शनलाई केवलकार निमाणको प्रक्रिया अघि वढाउन सहज भएको छ ।
त्रिवेणीले केवलकार निमार्णका लागि पहिले प्रक्रिया अघि बढाएको थियो । अदालतमा परेको मुद्धा आफुँले फिर्ता लिएको त्रिवेणीका प्रवन्ध निर्देशक सुवास सांघाईले बताए । “हामीले मुद्धा फिर्ता लिएका छौँ । अव पाथिभरामा केवलकार कस्ले बनाउँछ हामीलाई थाहा छैन ।” –प्रवन्ध निर्देशक सांघाईले भने । पाथीभरा देवी दर्शनका कार्यकारी निर्देशक इश्वरी पौडेलले भने दुई कम्पनीबीच कुरा मिलिसकेको बताए । यसअघि प्रक्रियाको विषयलाई लिएर यी दुई कम्पनी मुद्दा हालाहाल भएको थियो ।
यस अघि ताप्लेजुङको फुङलिङ नगरपालिकाले रज्जुमार्ग (केबलकार) अनुमतिसम्बन्धी कार्यविधी पारित गरि पाथिभरा माता देवी दर्शनलाई अनुमति दिएको थियो । नगर कार्यपालिका बैठकले सो कम्पनीलाई अनुमति दिने निर्णय गत जेठ १३ गत दिएको थियो । सोही कार्यविधीको आधारमा नगरपालिकाले १२ लाख रुपैयाँ राजस्व पनि लिएको छ । जेठ ६ गते रज्जुमार्ग (केबलकार) अनुमतिसम्बन्धी कार्यविधी पारित गरेको नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०४७ को दफा ११ (६) अनुसार अनुमति दिएको उल्लेख गरेको छ ।
मन्त्रिपरिषदको बैठकले पनि पाथीभरा माता कम्पनीलाई केबलकार निर्माण हुने क्षेत्रको सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । यी निर्णयहरुलाई लिएर त्रिवेणी भने अदालत गएको थियो । तर एकाएक उस्ले मुद्धा फिर्ता लिएको हो ।
पाथीभरा माता देवी दर्शनले भालुगौंडेको पूर्वपट्टि फुङलिङ नगरपालिका ११ फावाखोलालाई मात्रै छोएर केबलकार निर्माणको प्रस्ताव गरेको छ । कम्पनीले गरेको प्रस्ताव अनुसार यसमा ४.९७ हेक्टर क्षेत्रफल जमिन प्रयोग हुन्छ । यस्को लम्बाइ झन्डै साढे दुई किलोमिटर छ ।
जिल्ला वन कार्यालय स्रोतका अनुसार केबलकार निर्माणका लागि ठूला १ सय १२ वटा रूख काट्नुपर्ने हुन्छ । ठूला साना सबै गरी गरी जम्मा ६ हजार ६ सय २१ वटा काट्नुपर्ने देखिएको छ । लाथ्रा मात्रै २ हजार ९ सय ९५ वटा काट्नुपर्छ । वन ऐनअनुसार ठूला रुख, लाथ्रा, पोल भनेर छुट्याउनुपर्छ ।