इनरुवा/ इनरुवा अस्पतालको सेवा पछिल्लो दुई महिनायता निरन्तर खस्कँदो अवस्थामा छ । अस्पतालले लामो समययता नियमित डाक्टर अभाव झेल्दै आइरहेको छ । नियमितरूपमा दरबन्दीअनुसारको डाक्टर नबस्ने समस्या इनरुवा अस्पतालका लागि सामान्य बनेको छ ।
आम सर्वसाधारणको हेराइमा छवि धमिलिँदै गएको अस्पतालको साख पछिल्ला दिन अझ खस्केको छ । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको सङ्ख्यासमेत घट्दो छ । सर्वसाधारणप्रतिको विश्वसनीयता गुम्दै जाँदा इनरुवा अस्पतालमा दरबन्दीअनुसारको डाक्टरको अनुपस्थितिसमेत प्रमुख कारकका रूपमा देखिँदै आएकोे छ ।
डाक्टर नै नभेटिने र भनेजस्तो उपचार तथा औषधिसमेत नपाइने भएपछि पछिल्लो समय इनरुवा क्षेत्रकै नागरिकसमेत आपतकालीन अवस्थाबाहेक उपचारका लागि इनरुवा अस्पताल जान छाडेका छन् ।
आकस्मिक कक्षसम्म प्राथमिक उपचारका लागि पुगे पनि थप उपचार आवश्यक परे इनरुवा अस्पतालमा भर्ना हुनेको सङ्ख्या त झन् अक्कल–झुक्कल मात्र भेटिन्छ । जसलाई स्थानीयहरूले सेवाप्रतिको अविश्वासका रूपमा हेर्दै आएका छन् । इनरुवा अस्पतालमा भर्ना भई उपचार गराउनेको सङ्ख्या दिनानु दिन घट्दो छ । विपन्न समुदायबाहेक अस्पतालमा भर्ना भएर उपचार गराएको निकै कम भेटिन्छ ।
अस्पतालका मेडिकल रेकर्ड अधिकृत तथा सूचना अधिकारी लोकेन्द्र आचार्यका अनुसार फागुन महिनामा सुत्केरी र गर्भवतीसहित १ सय ८७ जना बिरामीले इनरुवा अस्पतालबाट सेवा लिएका छन् । अस्पतालमा नियमित चेकजाँच र प्रसूतिका लागि पुग्ने बिरामीलाई अन्य प्रकृतिको बिरामी सरह नलिइने हुँदा पुर्जी काटेर भर्ना हुने ५५ जनाले मात्र उपचार सेवा लिएको देखिन्छ । इनरुवा अस्पतालमा उपचारका लागि पुग्ने सुत्केरी र गर्भवतीको सङ्ख्या भने उच्च हो ।
सूचना अधिकारी आचार्यका अनुसार अस्पतालमा हाल ४ जना मेडिकल अफिसर डाक्टर, ३ जना दन्तचिकित्सक कार्यरत छन् । सिनियर अहेव, अहेव, हेल्थ असिष्टेण्ट, स्टाफ नर्स, अनमी, ल्याव टेक्निसियनसहित २२ जना स्वास्थ्यकर्मीहरू अस्पतालमा कार्यरत रहेका छन् । यसैगरी प्रशासन फाँट अन्तर्गत २२ जना, फार्मेसी सेवामा ४ जना कर्मचारी कार्यरत छन् । कागजी रूपमा ५० शøया रहेको अस्पताल २५ शøयामा सञ्चालित छ । आवश्यक प्रक्रिया अलपत्र पर्दा स्तरोन्नति हुन सकेको देखिँदैन । अस्पतालका लागि आवश्यक रहेको जनशक्ति हाल दैनिक हाजिर रहे पनि अस्पतालमा बसेर उपचार सेवामा दैनिक जिम्मेवारी निर्वाह गर्नेको सङ्ख्या भने न्यून छ ।
सिनियर अहेवको भरमा बहिरङ्ग विभाग
आइतबार इनरुवा अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आएका बिरामीहरूले एमबीबीएस डाक्टरको सेवा लिन खोजे । एक घण्टासम्म कुर्दासमेत डाक्टर नआएपछि उनीहरू सिनियर अहेव तारणीप्रसादको कक्षमा पुगेर चेकजाँच गराएर औषधि लिएर फर्किए ।
नियमित रूपमा अस्पतालको इन्डोर सेवामा सिअहेव तारणीप्रसादले दिनभर बिरामीहरूको परीक्षण गर्ने गरेका छन् । हाल अस्पतालको ओपीडी सेवा उनकै भरमा चल्दै आएको छ । दरबन्दीअनुसारका डाक्टर नहुँदा बेलाबखत अस्पतालमा लाग्ने बिरामीको भीडलाई लगभग यादव एक्लैले धान्दै आएका छन् । अस्पताल प्रशासन र कर्मचारीबीचको आन्तरिक किचलोमा बेलाबखत अहेवको उपचार सेवा पर्ने गरे पनि अन्ततः इनरुवा अस्पतालले उनकै भरमा ओपीडी सेवालाई निरन्तरता दिइरहेको छ ।
तीन जनाको भरमा २४ घण्टे इमरजेन्सी
सुनसरी सदरमुकाम तथा आसपासका ६ वटा गाउँपालिकाका साथै रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका र पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका कारणसमेत अस्पतालको आकस्मिक कक्ष व्यस्त रहन्छ । अत्यधिक बिरामीको चाप हुने इमरजेन्सी सेवा सिअहेव गुणानन्द झा, दिनेश यादव तथा अहेव प्रमोद श्रेष्ठका भरमा चलेको छ ।
इमरजेन्सी सेवामा आवश्यक रहेको औषधि, औजार, उपकरण तथा आवश्यक साधन स्रोत नहुँदासमेत जोखिम मोलेर इमरजेन्सी सेवाका स्वास्थ्यकर्मीहरूले आफ्नो टिम परिचालन गरेर दैनिक रूपमा चौबीस घण्टा सेवा दिँदै आएका छन् ।
अस्पताल प्रशासनसँग आवश्यक परेका औषधि, उपकरण, औजारलगायतका वस्तुहरू माग गरेको केही दिनपछि मात्र सीमितरूपमा प्राप्त हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । अपुग सामानले धानेको उपचारका बीच बिरामी तथा कुरुवाहरूको हप्की–दप्की, हातपात र दुव्र्यवहारको सामना गर्दै आउनुपरेको उनीहरू बताउँछन् । बहिरङ्ग विभाग र इमरजेन्सी सेवामा हाल करार तथा ज्यालादारी पदमा कार्यरत रहेका अन्य स्वास्थ्यकर्मीहरूले उपचार सेवामा सहयोग पुर्याउँदै आएका छन् ।
विकास समितिले काम गर्नै सकेन
इनरुवा अस्पतालको व्यवस्थापनको जिम्मेवारी पाएको अस्पताल विकास समितिका पदाधिकारीहरूलाई आफूले पाएको जिम्मेवारी टाउको दुखाइ बन्न पुगेको छ । अस्पतालभित्र रहेको सीमित व्यक्तिहरूको स्थायी जालोले निर्णय कार्यान्वयन गर्न नदिने र असहयोग गर्ने गरेका कारण समस्या समाधानको बाटो पहिल्याउँदै उसले कुनै ठोस काम गर्न सकेको देखिँदैन ।
जिल्ला समन्वय समितिका प्रमुख गोपाल राजभण्डारी अध्यक्ष रहेको अस्पताल विकास समितिका सदस्यहरूले जिम्मेवारी पाएलगत्तै इनरुवा अस्पताललाई भरपर्दो र विश्वसनीय उपचार सेवा दिने बताएका थिए । यद्यपि उनीहरूको वाचा अहिलेसम्म पूरा हुन सकेको छैन । समितिका पदाधिकारीहरूले अस्पताल कर्मचारी र डाक्टरहरूको असहयोगका कारण काम गर्न कठिनाइ भइरहेको प्रतिक्रिया दिने गरेका छन् । अध्यक्ष भण्डारी अस्पतालमा देखिएको समस्या समाधानको प्रयास भैरहेको बताउँछन् । यद्यपि स्वयम् व्यवस्थापन समितिका पदाधिकारीहरूउपर नै आफूनिकटका व्यक्ति भर्ना गराएको जस्ता आरोप लाग्दै आएको छ ।