असफलता नै सफलताको जननी हो भन्ने गरिन्छ । अर्थात् समस्याले नै समाधान निम्त्याउँछ । जो मानिस आफ्ना समस्यासँग जुध्न सक्छ त्यो नै सफल बन्न सक्छ भन्ने कुरा कामबाट चरितार्थ भएका विश्वविख्यात व्यक्तित्वहरूको जीवनीबाट थाहा पाइन्छ । मान्छे सृजनशील बन्नलाई पनि असफलताको हात हुन्छ । जब ठक्कर खाएर लडिन्छ, तब त्यो लडाइँले राम्ररी हिँड्न सिकाउँछ । झापा दमकका गङ्गाप्रसाद ढकालको जीवनयात्रा अध्ययन गर्दा पनि यही कुरा थाहा लाग्छ ।

गङ्गाले दमकमा ०४१ सालदेखि विद्युत् र हार्डवेयरको पसल सञ्चालन गरे । जसले गर्दा सधैँ पसलमा बस्ने, शारीरिक व्यायाम गर्न नभ्याउने । समय नै निकालेर व्यायाम गर्ने कुरा पनि नसोचेको अवस्था थियो । उनको भाषामा ‘विलासी जीवनले रोगी बनायो’ । मेरुदण्ड (ढाड) को समस्या आयो । ‘स्पोण्डोलाइटिस’ भयो । हिँड्न नहुने अवस्थै सिर्जना भयो । त्यसमा माइग्रेन र डिप्रेसन पनि थपियो । मेरुदण्डको समस्या समाधानका लागि त उनी चेन्नाईको एपोलो अस्पतालमा लामो समय उपचार गर्न पुगे । तर केही पार लागेन । त्यसपछि वैकल्पिक उपचारको विधि खोज्ने मन भयो र योग र आयुर्वेद क्षेत्रतर्फ आफू होमिएको गङ्गाले सविस्तार सुनाए ।

१५ वर्ष लामो आफ्नो पेशा त्यागे । अनि लागे सन् २००४ मा भारतका प्रसिद्ध योगसाधक रामदेवसँग जोडिएर पतञ्जली योगपीठ ट्रष्ट हरिद्वारतर्फ । त्यहाँ उनको शरीरको उपचार चामत्कारिक बन्यो । योग, आयुर्वेद, प्राणायाम, आहार–विहार, दिनचर्या, ऋतुचर्या जस्ता विषयमा योगको अभ्यास गरेर आफ्नो रोग निर्मूल मात्र पारेनन्, अरुलाई ती विषयमा सिकाउन प्रशिक्षण लिन पुगे र गतिलो प्रशिक्षक भएर निस्किए ।

काठमाडाैंस्थित पाटन क्याम्पसबाट स्नातक गरेर व्यवसायमा लागेका थिए । तर रोगले गर्दा उनलाई बुढेसकालमा पढ्न प्रेरित गर्यो । ४१ वर्षको उमेरपछि उनले भारतको नेचर केयर कलेज गोरखपुरबाट नेचुरल थेरापी, राजस्थानबाट एकुप्रेसर थेरापी कोर्ष, जगदम्बा मेडिकल कलेज राजविराजबाट वैद्य कोर्ष गरे । ब्रहमकुमारी राजयोग केन्द्रबाट राजयोग, श्रीश्रीश्री रविशङ्कर आर्ट अफ लिभिङबाट जीवन कला, डा. योगी विकासानन्दको मनोक्रान्ति, ओशो ध्यान, चतराधाम श्रीकृष्ण महाराजको सिद्ध महायोग, जीवन विज्ञानलगायतका आध्यात्मिक र योग जीवनका बारेमा प्रशिक्षण लिए ।

२०१८ सालमा भोजपुरमा जन्मिएका उनी जीवन त्यसै खेर फालिएको महसुस भइरहेको अवस्थामा योग साधनाले दिएको ऊर्जाले आफू अहिले झनै जवान भएको महसुस गरिरहेका छन् । आफ्नो गृहक्षेत्र दमकमा मात्र नभएर पूर्वाञ्चलका हरेक ठाउँमा योग सिकाउन उनी तल्लीन छन् । पूर्वाञ्चलमा त उनलाई भ्याई–नभ्याई छ नै । तर अन्य देशमा समेत गएर योग सिकाएर आफ्नो आयतन फराकिलो बनाएका छन् । योग शिविरका लागि अमेरिका, क्यानाडा, कोरिया, सिङ्गापुर, मलेशिया, चीन, थाइल्याण्ड, इण्डोनेशिया पुगेर आफ्नो प्रभाव देखाएका छन् । अमेरिकाको ३० राज्यमा र क्यानडामा ५ ठाउँमा शिविर सञ्चालन गरेको रमाइलो क्षण सम्झिन्छन् । नशाले थला परेकाहरू उनीसँग आएर निको भएर गएका छन् । थुप्रै समस्याको निदान भेटेर मानिसहरू उनीसँग कृतज्ञता व्यक्त गर्छन् ।

उनले वैदिक आयुर्वेदिक एकुप्रेसर हेल्थ केयर सेण्टर दमक र इटहरीमा सञ्चालन गरेका छन् । दमकमा ४ दिन र इटहरीमा ३ दिन समय दिन्छन् । समय मिलाएर अन्यत्र शिविरमा योग सिकाउन जानु उनको समाजसेवाको पाटो हो । अर्थात् उनले योग शिविरमा निःशुल्क योग सिकाउँदै आएका छन् । उनकी श्रीमती शान्ता पनि स्वस्थ जीवन र आहार विहारको मोटिभेटर हुन् । दम्पती नै योगका गुरु हुन् । दुवैले आफ्नो स्वास्थ्य सुधार्नु मात्र होइन, आयुर्वेद र योग क्षेत्रलाई सेवामूलक व्यवसाय बनाउन सफल भएका छन् । गङ्गाले हेल्थ केयर सेण्टरमा दैनिक ५० जना बिरामीहरूलाई आयुर्वेदिक उपचार गराउँछन् ।

प्राकृतिक उपचार अन्तर्गत योग, प्राणायाम, ध्यान, आयुर्वेद, एक्कुप्रेसर, फिजियोथेरापी, मट्टी चिकित्सा, जल चिकित्सा, स्पा थेरापी गराउँछन् । नशा रोगी, माइग्रेन, डिप्रेसन, उच्चरक्तचाप, डाइविटिज, प्रोष्टेट, पत्थरीया जस्ता समस्या योग विधिबाट निको पारेको दाबी गर्छन् । प्राकृतिक चिकित्सा विधिको उपचारले शारीरिक मात्र नभएर मानसिक रूपमा स्वस्थ रहने भएकाले यसलाई आत्मसात गर्नु सबैको आवश्यकता भइसकेको उनको तर्क छ । आफू वैद्य भएकाले रोग पहिले पत्ता लाउने । अनि निःशुल्क जाँच र परामर्श दिने । त्यसपछि योग, आयुर्वेदिक औषधि र आहार विहारको विधि बताउने उनको आफ्नो उपचारको शैली हुन्छ ।

उनकोमा कसले चाहिँ योग सिकेको छैन होला र ? प्रहरी प्रशासन, शिक्षक, विद्यार्थी, नेता, समाजसेवी, व्यवसायी, बुद्धिजीवी, कवि, पत्रकार सबै क्षेत्रकाले योग सिकेका छन् । विद्यालय, सुरक्षा निकाय, नगरपालिका, कारागार, सरकारी तथा गैरसरकारी संस्थामा पुगेर उनले सिकाएका छन् । दम्पती अरुलाई योग सिकाउने क्रममै बिहान २ घण्टा योग गर्छन् । आहार–विहार र दिनचर्याको व्यवस्थितपन आत्मसात गरेका छन् । भान्साकोठाको र शरीरको सुरक्षा नै सबैभन्दा ठूलो उपचार भएको उनको तर्क छ । ‘प्रयोग गर्न जाने शरीरभित्रै थुप्रै उपचार पद्धति छन् । तर यसमा मानिसले ध्यान पु¥याइरहेका छैनन् । दैनिक व्यायाम, नियमित दिनचर्या र ध्यान नै प्रमुख कुरा हो’ प्रवचनशैलीमा उनी भन्छन्, ‘मलाई त रोगले निरोगी हुन सिकायो ।’

उनको पछिल्लो परिचय वैद्य र योगाचार्य बने पनि उनी समाजसेवामा यसअघिदेखि सक्रिय थिए । एफएम रेडियोहरुमा योग विज्ञान कार्यक्रम सञ्चालन गर्दै जीवन सुरक्षित बनाउने सूत्र सिकाउने सञ्चारकर्मी समेतको परिचय छ उनको । सहकारी अभियन्ता पनि हुन् । विभिन्न पत्रपत्रिकामा स्वास्थ्य लेख प्रकाशित पनि गर्दै आएका छन् । मन्तव्य वा प्रवचन प्रभावकारी रुपले प्रस्तुत गर्छन् । अर्थात उनी शरीर र दिमाग स्वस्थ राखेर जीवनलाई सृजनशील हिसावले अघि बढाउनु पर्ने भन्ने अभियानमा छन् । मसँग पनि लामै समयदेखि सृजनशील सहकार्यमा रहेका उनको फेरिएको जीवनको पाटोले प्रभावित पारेको छ ।

बरु घरमा खान नहोला तर देखासिकीका रूपमा विलासी जीवन बिताउने हाम्रो शैली बनेको छ । हुनेखानेहरू त झन् रोगका भकारी बन्दै गएका छन् । शारीरिक र मानसिक व्यायाम गरिएन भने बढ्दो प्रदूषणयुक्त वातावरणले हामी सकिन्छौं । यो बेलासम्म हामी निकै रोगी भइकेका छौं । लाग्छ, केही गर्नका लागि पहिले समस्या आउनु पर्ने रहेछ । हिँड्दा लड्नु नै पर्ने रहेछ । भोक भोकै बस्दा मात्र भातको एक एक सिताको महŒव बुझिने रहेछ । जो कोही पनि जन्मिदा पहिले रुन्छ अनि मात्र उसले हाँस्न सिक्छ । त्यही सिकाइ जीवनको मार्गदर्शन मानेर स्वस्थ जीवनको उपाय अवलम्बन गर्ने हो कि ?