वसन्त ऋतुअन्तर्गत फागुन शुक्ल पूर्णिमाको दिन यो पर्व मनाइने गरिन्छ । विष्णुपुराणमा उल्लेख गरिएअनुसार दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिकाका नाममा यो पर्वको नामाकरण भएको हो । होलिकाको दहन भएको खुशीयालीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् ।
 
हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान् विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयम्लाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नू’ भनेर कडा निर्देशन जारी गरेको थियो । तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान् विष्णुको पूजा गर्दै रहे । छोरा प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरेको थियो ।
 
ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा राखेर चारैतिर पराललगायत जल्ने वस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो । उल्टै आगोमा होलिका नै जलेर भष्म भइन् । असत्यको बाटो अपनाएको कारणले वरदान फलिफाप भएन । असत्यमाथि सत्यको विजय भयो । त्यसपछि, सोही तीथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।