बाँझोपनलाई हाम्रो समाजमा नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गर्न खोजिन्छ । महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ ।
 
बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणासमेत विद्यमान छ । यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्छन् । जबकि बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ । बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान् तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहन्छ ।
 
हिजोआज समाजमा बाँझोपनको समस्या दिन प्रतिदिन बढ्ने क्रममा देखिन्छ । के हो बाँझोपन ? यो कसरी हुन्छ ? यसको समाधान के हो ? यसबारे सामान्य जानकारी लिऊँ ।
 
विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भनिन्छ । लगभग ८५ प्रतिशत दम्पतीमा विवाहको पहिलो वर्षमै कोशिस गरेमा बच्चा हुने सफलता हुन्छ भने यसमध्ये ७ प्रतिशत दम्पतीमा विवाहको दोस्रो वर्षमा बच्चा हुने सम्भावना हुन्छ । बाँकी १५ प्रतिशतलाई बाँझोपनमा राख्न सकिन्छ ।
 
बाँझोपनका कारण
–महिलाको महिनावारी गडबड हुनुः महिलाको महिनावारी करिब २१ देखि ३५ दिनसम्म हुनुपर्छ । कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ । यसमा डिम्ब निष्कासनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम । 
–डिम्बवाहिनी नली बन्द हुनुः जसमा क्षयरोग एउटा मुख्य कारक हो । यस्तो इन्फेक्सन शुक्रकीटको गतिविधिमा पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ ।
–पाठेघरको सङ्क्रमणः यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइटिया, गोनोरियाजस्ता सङ्क्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीमा इन्फेक्सन तथा इन्फ्लामेसन हुन्छ । अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ ।
–पाठेघरको ट्युमर्सः पोलिप र फाइब्रोइदजस्ता ट्युमरले बच्चा बस्न दिँदैन । अनि बाँझोपन हुन जान्छ ।
–महिलाको बढ्दो उमेरः ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ ।
–जन्मजात पाठेघरको विकास नहुनु ।
–गर्भपतनः पहिलो शिशु नजन्माई गर्भपतन गराउनु अथवा बारम्बार गर्भपतन गराउनु, जसले गर्दा पाठेघर पातलो हुन जान्छ र पाठेघरको भित्ता एक–अर्कासँग टाँसिन जान्छ ।
–पुरुषको वीर्यमा हुने शुक्रकीटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकीट स्वस्थ नहुनु वा शुक्रकीट नै नहुनु (एजोस्परमिया) ।
–पुरुषको वीर्यनलीमा सिस्ट, ट्युमर भएमा । 
–पुरुषको गुप्ताङ्गको विकास राम्रोसँग नभएमा । 
 
अन्य (जीवनशैली)
अत्यधिक मात्रामा धूमपान तथा मदिरा सेवन, जसको कारण पुरुषमा शुक्रकीटको मात्रा कम हुने हुन्छ भने महिलामा पनि यसले गर्भ नरहनुमा उत्तिकै भूमिका खेल्छ । मोटोपन, खानपानको कमी, जङ्कफुडको बढी प्रयोग आदि र मानसिक तनावले गर्दा पनि बाँझोपन हुन्छ । किनभने मस्तिष्क तथा पाठेघर एक–अर्काप्रति निर्भर हुन्छन् ।
बाँझोपनमा गरिने जाँच
 
–हिस्ट्री (श्रीमान् र श्रीमती) : हिस्ट्रीबाट पनि केही मात्रामा कसमा र के–कस्तो  कारणले गर्दा बाँझोपन भएकोे छ भनेर पत्ता लगाउन सकिन्छ ।
–टिभिएसः यस प्रविधिबाट पाठेघरको ट्युमरहरू जस्तैः फाइब्रोइद र पोलिप, डिम्बासयका ट्युमरहरू पत्ता लगाई बाँझोपनको कारण थाहा पाउन सकिन्छ ।
–रगत परीक्षणः यसमा विशेषगरी हर्माेनको जाँच गरिन्छ, जस्तैः टिएसएच, एफएसएच, एलएच, इटु, एस आदि ।
– हिस्टेरोसाल्फिङ्गोग्राफ्रीः डिम्बवाहिनीको संचारण ।
–वीर्य परीक्षणः यसमा पुरुषको वीर्य जाँच गरिन्छ ।
–वीर्यको मात्रा र भोल्युमः सामान्यता १.५–२ मिलि हुनु पर्छ ।
–वीर्यमा शुक्रकीटको संख्या र कन्सनट्रेसनः सामान्यता २० मिलियन ।
–शुक्रकीटको चल्ने क्षमता र मोटिलिटीः सामन्यता ४० प्रतिशतभन्दा माथि ।
–शुक्रकीटको आकार र मोर्फोलोज । 
 
बाँझोपनको उपचार
–उपयुक्त परामर्श र काउन्सिलिङः निःसन्तान दम्पतीलाई डाक्टर स्वयम्ले परामर्श र काउन्सिलिङ प्रदान गर्नुपर्छ । आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतीको घर–परिवारसहितलाई पनि काउन्सिलिङ गर्नुपर्ने हुन्छ ।
–औषधि पद्धतिद्वारा उपचार र मेडिकल थेरापीः महिलामा अण्डाको मात्रा बढाउन र ओभुलेसन गराउन गोनाडोत्रोफिन औषधि प्रयोग गरिन्छ, जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पु¥याउँछ । त्यसैगरी पुरुषको निम्ति केही प्रकारका औषधि उपलब्ध छन्, जसले शुक्रकीटको मात्रा बढाउन मद्दत गर्दछ (एन्टी अक्सिडेन्ट, भिटामिन) ।
–आइयुआई र आइभिएफ प्रविधिः आइयुआई भन्नाले पुरुषको वीर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो । यो करिब २० प्रतिशतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ । आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्यावमा पुरुषको शुक्रकीटसँग निषेचित (फर्टिलाइज) गरिन्छ । त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ । यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया त्यो महिलामा पनि गर्न मिल्छ, जसको श्रीमान्मा शुक्रकीटको मात्रा धेरै कम भएकोे पाइन्छ । यो साधारणतया ४०–५० प्रतिशत व्यक्तिमा सफल हुन्छ ।
–शल्यक्रिया, ल्याप्रोस्कोपिकः यदि बाँझोपनको कारक पाठेघर, डिम्बासयको ट्युमर भएमा त्यसलाई ल्याप्रोस्कोपिक प्रविधिद्वारा निकाल्न मिल्छ ।
–हिस्टेरोस्कोपिकः यस प्रविधिबाट पाठेघरभित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघरभित्र भिडियो पठाई शल्यक्रिया) बिना पेट खोली यौनाङ्गको बाटोबाट निकालिन्छ ।
 
(प्रसूति तथा स्त्रीरोग र निःसन्तान विशेषज्ञ डा. कार्की वेल्फेयर अस्पतालमा कार्यरत छिन् ।)
साभारः स्वास्थ्यखबरबाट