इटहरी/ नेपालकै पहिलो दूध प्रशोधन गर्न सहकारी संस्था कामधेनु दुग्ध विकास सहकारी संस्थाले दैनिक २५ हजार लिटर क्षमताको दूध प्रशोधन केन्द्र निर्माण गरेको छ ।
सहकारीले करिब २० करोड रुपैयाँ लगानीमा दैनिक २५ हजार लिटर दूध प्रशोधन गर्न सकिने भवन निर्माण परियोजना अघि बढाएको हो । दूध बिक्रीलाई सहज बनाउँन ठूलो लगानीमा प्रशोधन केन्द्र शुरु गरेको हो । कामधेनुले प्रशोधन केन्द्रले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुमबाट १२ हजार लिटरमात्रै दूध ल्याउने गरेको र त्यसलाई अझ राम्रो बनाउन प्रशोधन केन्द्र खोलेको सहकारी संस्थाका व्यवस्थापक कृष्ण घिमिरेले बताए ।
उनले भने, ‘कामधेनु सहकारीमा आबद्ध ५८ दुग्ध उत्पादक सहकारी संस्थाले ३० देखि ३५ हजार लिटर दूध उत्पादन गर्ने गर्दछन् ।’ दैनिक २५ हजार लिटर दूध प्रशोधन गर्ने मेशिन जडानको काम भइरहेको व्यवस्थापक घिमिरेले बताए । २० करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको परियोजनाको लागि आवश्यक खर्च विभिन्न सहकारीले जुटाएका छन् । सहकारीका व्यवस्थापक घिमिरेका अनुसार २५ हजार लिटर दूध प्रशोधनलाई बढाएर ५० हजार लिटर पु¥याउने योजना छ । मेसिनले धेरै काम अटोमेटिक प्रणालीबाट गर्ने हुँदा कर्मचारी लागत घट्ने बताइएको छ ।
धरान, इटहरी, विराटनगर, दुहवी, इनरुवा, विराटचौकलगायतको क्षेत्रमा दूध बिक्री भइरहेको सहकारीले जनाएको छ । प्रदेश एकको ६ वटा जिल्लाबाट सङ्कलन भएको दूधलाई किन्ने र प्रशोधन गरेर बिक्री गर्ने काम भइरहेको व्यवस्थापक घिमिरेको भनाइ थियो । व्यवस्थापक भन्छन्, ‘सहकारीमार्फत् हामीले गरीरहेको काम देशकै पहिलो हो । अहिले यहाँबाट काठमाडौं, पोखरा र चितवनसम्म दूध बिक्री गदै आएको कामधेनु सहकारीले जनाएको छ ।
पाउडर कारखाना खोल्ने तयारी
बजारमा दूधको माग बढेको बेला उत्पादन घट्ने र बजारमा माग घटेको बेला दूध उत्पादन बढ्ने गरेको कारण सबै मागलाई पूरा गर्ने कामधेनु दुग्ध सहकारीले पहिलो पटक पाउडर कारखाना खोल्न लागेको छ । पहाडी क्षेत्रका किसानहरूबाट सङ्कलन भएको दूधको मागलाई मध्यनजर गदै पाउडर कारखाना सञ्चालनमा ल्याउँने तयारी भएको सहकारी संस्थाले जनाएको छ ।
पूर्वी पहाडी जिल्लामा दूध धेरै उत्पादन भइरहेको भन्दै धेरै उत्पादन भएको बेला व्यवस्थापन गर्नेसमेत सजिलो हुने भएको कारण कारखाना खोलिएको सहकारीका व्यवस्थापक घिमिरेको उनको भनाइ थियो । गैरकानूनीरूपमा आयात हुने बिदेशी पाउडर दूधलाई रोके नेपाली उत्पादनले बजार नपाउने उनले बताए । बटर र एसएमपी (डेरी, आइसक्रिम उद्योगमा प्रयोग हुने पाउडर दूध), हाइटनर (चियामा प्रयोग गर्ने पाउडर दूध), ध्यू र बटर उत्पादन हुन्छ । बाह्य मुलुकबाट भित्रिएको उत्पादन लागत मूल्य कम हुने र कमजोर गुणस्तरका दुग्धजन्य पदार्थ आयात हुँदा समस्या हुन्छ घिमिरे भन्छन् ।
आइसक्रिम र मिठाइ बनाउने तयारी
अहिले कामधेनु दुग्ध डेरीले सुनसरी र धनकुटाको जोरपाटीबाट १० हजार लिटर दूध किनिरहेको छ । धनकुटामा २ हजार लिटर दूधबाट चिज र छुर्पी उत्पादन गर्ने र बाँकी दूध इटहरीस्थित उद्योगमा ल्याएर प्याकेट दूध, दही, मोही, पनिर, खुवा आदि उत्पादन गर्ने गरेको छ ।
नयाँ मेसिन र उद्योग सञ्चालनबाट पूर्वी नेपालमा मिल्क होलिडे समस्या समाधान हुने सहकारीले बताएको छ । नयाँ प्लाण्ट जडान भएपछि आइसक्रिम, मिठाइलगायत परिकार थप गर्ने योजना छ । भारतलगायत तेस्रो मुलुकबाट आयत हुने मिठाइ मात्र कम गर्न सके आफ्नै देशमा उत्पादन भएको गुणस्तरीय मिठाइ नेपालीले खान पाउँने छन् ।